गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १६ गते । ग्लोबल आइएमई बैङ्कले राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ योजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा मुलुकलाई आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउन लिइएको रणनीतिलाई सहयोग गर्ने उद्देश्यले धान खेती कर्जा सार्वजनिक गरेको बैङ्कले जनाएको छ ।
योजना अन्तर्गत कृषकले धानको बिउ, रासायनिक तथा जैविक मल, कृषि उपकरण तथा अन्य आवश्यक कृषि सामग्री खरिद गर्न बैङ्कबाट २० लाख रुपियाँसम्म कर्जा पाउने छन् । खेतीयोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाउने, कृषि पेसालाई मर्यादित र व्यावसायिक बनाउनका लागि कृषकलाई प्रोत्साहन गर्न यो कर्जा योजना ल्याएको बैङ्कले जनाइएको छ । बैङ्कले राष्ट्रिय धान दिवसको अवसरमा टोखा नगरपालिका–१, राधाकृष्ण मन्दिरनजिकैको फाँटमा बैङ्कका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाइँ आयोजना गरेको थियो ।
कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले धान खेती कर्जाले कृषकलाई धान खेती गर्न प्रोत्साहित गर्दै धानको उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।