इलाम समाचारदाता
इलाम, असार १५ गते । बिहीबार इलाम सदरमुकाम आइपुगेका भारत डुअर्सका दुई पर्यटक चिसो मौसममा रमाउन इलामकै जसबिरेतिर हुइँकिनुभयो । उनीहरूको यात्रा जसबिरे मात्र होइन माइपोखरी, सन्दकपुर, जौबारी हुँदै पशुपतिनगर निस्किएर डुअर्स फर्किनु थियो ।
कम्तीमा तीन दिनका लागि इलाम यात्रामा निस्किएका यी दुई पर्यटक इलाम चोक बजारमा उभिएर उहाँहरू भन्दै हुनुहुन्थ्यो, “हम ठन्डी जाना चाहते है ।” उनीहरूका लागि पुर्बेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष ग्रीष्म सुब्बाले कहाँ कहाँ र कुन बाटो जाने गन्तव्य टुङ्गो गर्दै त्यसतर्फ पठाउनुभयो । इलाम घुम्न आउने भारतीय पर्यटक उनीहरू मात्र होइनन् । अचेल दिनहुँ जसो भारत पश्चिम बङ्गालबाट इलाम भित्रिनेको सङ्ख्या ठुलै छ । “कोही मानेभन्ज्याङबाट पसेर सन्दकपुर हुँदै फर्कन्छन् । कोही सदरमुकाम आएर जसबिरे हुँदै पौवा भञ्ज्याङ, गोरुवाले, सन्दकपुर हुँदै फर्किने गरेका छन्,” सुब्बाले भन्नुभयो, “अहिले सिलिगुढी, डुर्अस, नक्साललगायतका गर्मी ठाउँबाट थुप्रै भारतीय नागरिक इलाम आइरहेका छन् ।” यसरी इलाम भित्रिने पर्यटकले सुविधासम्पन्न स्थान र ठुला होटेलहरू रोज्नुको सट्टा अचेल गाउँको बसाइ, एकान्त र शीतल ठाउँ बढी रोज्न थालेको सुब्बाको अनुभव छ ।
पछिल्लो समय इलाम भित्रिने पर्यटक बजारक्षेत्रमा भन्दा एकान्त र गाउँ नै जाने गरेको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौड्याल बताउनुहुन्छ । “बजारक्षेत्र र धेरै जनसङ्ख्या भएका स्थानमा बसेका अचेल शान्त वातावरण खोज्न थालेका छन् । त्यस्ता धेरै टोलीलाई हामीले यात्रा सहज गराएका छौँ ।” उहाँले भन्नुभयो, “अचेल त फोनसमेत नलाग्ने, शान्त र सुरक्षित स्थान रोजेर पर्यटक बस्न थालेका छन् । हामीले धेरैलाई माईमझुवाका होमस्टे पठाएका छौँ ।” त्यसो त पर्यटकीय स्थल सन्दकपुर, छिन्टापु, फालोट, फुस्रे पोखरीलगायतका स्थानमा जान राम्रो वासस्थान माईमझुवाका होमस्टे भएका छन् ।
इलाम भित्रिने पर्यटकले होमस्टेको बसाइलाई धेरै सहज मान्ने पनि गरेका छन् । “ढुङ्गा माटोले बनेका घर हेर्न, गाउँमा उत्पादित वस्तु आफैँ पकाउने, खाने गाउँको रहनसहनमा रमाउने धेरै पर्यटक हुन्छन् । अहिले गाउँका होमस्टेमा प्रायः पाहुना देखिन्छन्,” होमस्टे महासङ्घ कोशी प्रदेश अध्यक्ष लीला भट्टराईले भन्नुभयो । पर्यटक आउँदा गरिने सत्कार र जाँदा गरिने बिदाइसहितको सानो कोसेलीले पर्यटकको मन जित्न सकिने अध्यक्ष उहाँको अनुभव छ ।
त्यसो त जिल्लामा भित्रिने पर्यटकलाई सुरक्षित महसुस गराउने प्रमुख दायित्व जिल्लावासीकै भएको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालको ठम्याइ छ । “आउने पाहुनाले दिन, रात, साँझ, बिहान जतिबेला हिँडे पनि आफूहरू सुरक्षित महसुस गर्नसक्नु पर्छ । इलाम सुरक्षाका लागि राम्रै गन्तव्य छ,’’ उहाँले भन्नुभयो । इलाम आएका पर्यटकको स्वागत र बिदाइमा पनि कन्जुस्याइँ गर्न नहुने उहाँले बताउनुभयो ।