इमान सिं राना
रामपुर (पाल्पा), असार १४ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पाल्पा बाट ६ जना विद्यार्थीले चार जिपिए अङ्क ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ को एसईईमा दुई सामुदायिक र एक संस्थागत विद्यालयका चार छात्रा र दुई छात्रले चार जिपिए ल्याउन सफल भएका हुन् ।
रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरबाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट एक जना र न्यू होराईजन आवासीय माध्यमिक विद्यालय तानसेनबाट तीन जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ ।
नतिजाअनुसार रामतुलसी माविबाट विविशा घिमिरे र अनुजा श्रेष्ठ, देववाणी देववाणी संस्कृत तथा साधारण माविबाट शुलभ भट्टराई, न्यू होराईजन आवासीय माविबाट दिव्या कार्की, कामना राना र निश्चल भण्डारीले चार जिपिए ल्याउन सफल भएको समन्वय इकाइका प्राविधिक सहायक बोमबहादुर थापाले बताउनुभयो ।
चार जिपिए ल्याउने विद्यार्थीहरु साधारण तर्फको रहेको छ । पाल्पा बाट परीक्षामा सहभागी विद्यार्थीहरु मध्ये ६० दशमलव ४५ प्रतिशतले ग्रेड पुरा गरेको थापाले बताउनुभयो । नियमित साधारण तर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिक तर्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थीले ग्रेड पुरा गरेका छन् ।
सो मध्ये चार जिपिए ल्याउने विद्यार्थी ६ जना, ३.६१ देखि ४ जिपिए ल्याउने दुई सय ३२ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने पाँच सय ५१ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने सात सय ५३ जना, २.४१ देखि २.८० जिपिए ल्याउने पाँच सय ३८ जना, २.०१ देखि २.४० जिपिए ल्याउने २० जना, १.६० देखि २.० ल्याउने शुन्य र १.६० जिपिए भन्दा कम ल्याउने विद्यार्थी संख्या एक हजार चार सय चार जना रहेको छ ।
प्राविधिकतर्फ ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना, ३.२१ देखि ३.६० जिपिए ल्याउने ६२ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने ६१ जना, २.४१ देखि २.८० जिपिए ल्याउने १५ जना र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या ७२ जना रहेका छन् । जिल्लाका एक सय ३९ विद्यालयबाट विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।