मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) असार १३ गते । गाउँपालिका केन्द्रमै सञ्चार सुविधा छैन भन्दा अपत्यारिलो लाग्छ । तर हुम्लाको चंखेली गाउँपालिका केन्द्र पिप्लाङमा अझै सञ्चार सुविधा छैन । गाउँपालिका केन्द्र सञ्चारविहीन अवस्थामा रहँदा दैनिक काममा समेत प्रभाव परिरहेको छ ।
गाउँपालिका विभिन्न स्थानमा टेलिफोन टावर भए पनि गाउँपालिका केन्द्रमा कुनै पनि सञ्चार कम्पनीको टावरले काम नगरेका कारण अझै गाउँपालिका केन्द्र सञ्चार सम्पर्कबाट टाढा रहेको हो । गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको गाउँपालिका अध्याक्ष प्यारीलाल शाहीले बताउनुभयो ।
गाउँपालिका कार्यालयमा नेपाल टेलिकमको टेलिफोनले काम नगर्दा कुरा गर्न डाँडातिर धाउनुपर्ने बाध्यता रहेको छ । जनताका गुनासा र समस्या धेरैजसो फोनमै समाधान हुने भए पनि सञ्चार सुविधा नहुँदा सर्वसाधारणले गाउँपालिका नै धाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरलाग्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत दिपक गिरीले बताउनुभयो । गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समसयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन ।
सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए/नभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने वडा नं. ५ का स्थानीय बसुना तामाङको गुनासो छ ।
गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुने गरी नेपाल टेलिकमले फोर जी टावर निर्माण प्रक्रिया अघि बढाइसकेको जनाएको छ । पालिक कै मेलछाममा रहेको नेपाल टेलीकमको टेलिफोन टावरमा समस्या आउँदा सूचना आदनप्रदानमा समस्या भएको छ । उहाँका अनुसार पालिकाको केन्द्रमा टेलिफोन टावर नहुँदा सूचना आदनप्रदान ठप्प बनेको छ ।
सूचना र सञ्चारका अभाव रहेको गाउँपालिकामा टेलिफोनको टावरमा समस्या आउँदा गाउँपालिकामा हुने विभिन्न काम समेत ठप्प बनेका छन् । यतिबेला गाउँपालकामा गाउँसभादेखि अन्य विभिन्न कार्य गर्न समेत समस्या भएको हो ।
गाउँपालिकाको केन्द्रमा टेलिफोनको समस्या भएपछि गाउँ र जिल्ला बाहिर भएका नागरीकलाई सम्पर्क गर्न समेत समस्या भएको छ । घर बाहिर भएका नागरीकहरुलाई यतिबेला गाउँ बाहिर खबर आदन प्रदान गर्न समस्या हुदा हाल सञ्चारविहीन भएको उहाँले बताउनुभयो ।
टेलिफोनो टावरमा समस्या आएकै कारण नागरिकले अग्ला डाँडा काडामा गएर फोन सम्पर्कमा जोडिन बाध्य भएको अध्यक्ष शाहीले बताउनुभयो । पालिका केन्द्रमा टेलिफोनको समस्या आएदेखि २ घण्टा पैदल हिँडेर दार्माबाट टेलिफोन गर्नु परिरहेको छ ।
अध्यक्षले टेलिफोन समस्या बुझ्नकै लागि समेत मोबाइलमा टावर नहुँदा कुनै पनि ठाउँमा बुझ्न सक्ने अवस्था नभएको बताउनुभयो । नेपाल टेलिकमको दूरसञ्चार कार्यालय हुम्लामा बुझ्न समेत टावर नरहेको गुनासो गर्नुभयो ।
यता दुरसञ्चार कार्यालय हुम्लामा बुझ्दा सो ठाउँमा कुनैपनि टावरले काम नर्गदा फोर जी टावरलाई पालिका केन्द्रको तोर्गेट गरी निर्माण थालिएको जनाएको छ ।
रुखमा चढेर फोनमा कुरा गर्दै स्थानीय
मोबाइलमा कुरा गर्न अग्लो स्थान खोज्दै धाउनुपर्ने बाध्यता छ । पटकपटक सरोकारवालालाई समस्या दर्साउँदा पनि सामाधान नभएको स्थानीयवासीको गुनासो छ । वर्षौंदेखिको नेटवर्क समस्या यथावत रहेको पीडा उहाँरुसँग छ । गाउँपालिका केन्द्र मात्रै नभए प्राय ठाउँका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ । दिउँसो पनि नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता रहेको छ ।
स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि अग्लो स्थान र रुख चढ्ने गरेका छन् । महत्त्वपूर्ण सूचना आदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको उहाँको भनाइ छ ।