यदुप्रसाद भट्ट
मनाङ, असार १२ गते । मनाङको नासोँ गाउँपालिका–१ ताल गाउँमा ५० घरधुरी रहेको छ । यहाँको जनसङ्ख्या जम्मा दुई सय ६० रहेको छ जसमा १५ जना ज्येष्ठ नागरिक, १८ जना बालबालिका, एक सय १५ महिला र एक सय १२ पुरुष छन् । यसमा पनि हाल गाउँमा एक सय ५२ जना मात्र स्थायी रूपमा बसोवास गर्दै आएका छन् । ७५ जना भने जिल्ला बाहिर नै छन् ।
२०७८ साल असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ पूरै डुबानमा परेको थियो । यही घटनालाई मध्यनजर गर्दै ताल गाउँको खेल मैदानमा असार ९ देखि ११ गतेसम्म तीनदिने विपद् व्यवस्थापनसम्बन्धी विशेष तालिम सम्पन्न भएको छ । हिमाली क्षेत्रमा जनसङ्ख्या कम हुनु सामान्य नै हो । सक्ने त सहर लागे नै नसक्ने त अझै पनि गाउँमै छन् । विपद्जन्य जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले लिइएको तालिममा ३४ जनाले भाग लिएका थिए । उनीहरुलाई आपत्कालीन उद्धार अभ्यास पनि गराइएको थियो ।
कार्यक्रममा स्थानीय युवा क्लब, आमा समूह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मीलगायतका सरोकारवालाका लागि लक्षित गरी आयोजना गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै सो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले तालिमले विपदको बेलामा जनधनको सुरक्षा के कसरी गर्न सकिने रहेछ भन्ने ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँले विपदमा सावधानी अपनाउन पर्ने तालिमले जानकारी दिएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले समुदायमा चेतना र क्षमताको अभिवृद्धि हुने तथा यस्ता अभ्यासले भविष्यका विपद् व्यवस्थापनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।