हरिप्रसाद कोइराला
उर्लाबारी, असार १० गते । मोरङको रतुवामाई नगरपालिकाले ८३ करोड ८५ लाख ११ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार साँझ स्थानीय विश्वनाथ मन्दिरको सभाहलमा भएको १६ औँ नगरसभाको बैठकमा नगर उपप्रमुख दमयन्ता देवी चुडालले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
नगर उपप्रमुख चुडालले आम्दानी तर्फ घरभाडा, राजस्व तथा प्राकृतिक स्रोतसाधनबाट २७ करोड रुपियाँ सङ्कलन गर्ने अनुमान गर्नुभएको छ । यसैगरी, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान १५करोड ३६ लाख, सङ्घीय सरकारबाट राजश्व बाँडफाँड १२ करोड ५० लाख ४५ हजार ३१९ रुपियाँ प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ४५ लाख ७० हजार रुपियाँ, प्रदेश सरकारबाट समानीकरण कर बाँडफाँडबाट ९१ लाख चार हजार र आन्तरिक आम्दानीबाट चार करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।
चालु आवमा खर्च नभएको पुँजीगत रकमलाई समावेश गरिएको छ । उक्त रकम आठ करोड ३३ लाख २० हजार ६८१ रुपियाँ रहेको छ । यसैगरी सङ्घीय सरकारबाट सशर्त अनुदान चालु तर्फको ३१ करोड २८ लाख रुपियाँ, सङ्घीय सरकारबाट सशर्त अनुदान पुँजीगत तर्फ ३ करोड ३१ लाख रुपियाँ, प्रदेश सशर्त अनुदान चालु २९ लाख ७१हजार, प्रदेश सशर्त अनुदान पुँजीगत १ करोड लाख ५३ लाख रुपियाँ ,प्रदेश सरकार समपूरक सशर्त अनुदान ८० लाख रुपियाँ, सङ्घीय सरकार विशेष अनुदान ६७ लाख रुपियाँ र सङ्घीय सरकार समपुरक अनुदान ७० लाख रुपियाँ गरी ८३ करोड ८५ लाख ११ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको हो ।
यसैगरी, खर्च तर्फ नगरका विषयगत शाखाका कार्यक्रम सञ्चालन गर्न चार करोड ३३ लाख ४ हजार, नगरको पूर्वाधार विकासका लागि सात करोड ३१ लाख, क्रमागत दायित्व १ करोड २५ लाख,चालु खर्च (कर्मचारी र पदाधिकारी तलब भत्ता र पोशाक ११ करोड ५० लाख, छोरी बुहारी शिक्षाका लागि २० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
यसैगरी, नगर अस्पताल व्यवस्थापनका लागि ५० लाख, किसानको सिँचाइ मोटरको विद्युत् बिल तिर्न ५० लाख, दमकल खरिद तथा व्यवस्थापन एक करोड, अपाङ्गता भएका नगरवासीको पुनःस्थापनाका लागि दुई लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ । यस्तै, मर्मत सम्भारका लागि ५० लाख, विपद् व्यवस्थापनका ४० लाख रुपियाँ छुट्याइको छ । सङ्घ र प्रदेश सरकारले दिएको ससर्त अनुदान जुन शीर्षक तोकेर दिइएको छ । त्यही शीर्षकमा खर्च हुनेछ । आगामी वर्षका लागि वडागत सिलिङका लागि पाँच करोड ५० लाख रुपियाँ छुट्याइएको छ । चालु आवका लागि नगरले ७८ करोड ९० लाख ३३ हजार रुपियाँको बजेट प्रस्ताव गरेको थियो । जसमध्ये आठ करोड ३३ लाख २० हजार ६८१ रुपियाँ खर्च हुन नसकेपछि आगामी वर्षको बजेटमा समावेश गरिएको छ ।
नगर प्रमुख नागेश्वरप्रसाद सिंह गनगाईको अध्यक्षतामा भएको १६ औं नगरसभाको बैठक छलफल पछि संसोधन सहित पारित हुने वडा नंं १० का वडाध्यक्ष एवम् प्रवक्ता भुलबहादुर कार्कीले बताउनुभयो ।