• १० असार २०८२, मङ्गलबार

राष्ट्रिय कविता महोत्सव, उत्कृष्ट दस कविता छनोट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १० गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ मा दस जना कविका दस वटा कविता उत्कृष्ट भएका छन् । 

प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले राष्ट्रिय कविता महोत्सवमा सहभागी भएका कविहरूको मूल्याङ्कन समितिबाट सिफारिस भए अनुसार सर्वोत्कृष्ट दस जना कविका कविता पुरस्कारका लागि छनोट भएको जानकारी दिनुभयो । जस अनुसार सिरहाका अविनाश भट्टराईको छुटी जानेहरूका नाममा, मोरङका कर्ण सञ्जयको पिताजी अहाँ के छलौ (मैथिली भाषा), मकवानपुरका किशन पौडलेको पृथ्वीको क्रन्दन, लमजुङकी गोमा श्रेष्ठको भालेको मौन विद्रोह, नवलपरासीको चन्द्रमणि चापागाईंको औजार, रुकुम पश्चिकी तुलसी केसीको तिम्रो गाउँको शून्यता, मकवानपुरकी मिरमा (रमा सुवेदी) को अचेल हरेक रात पहाड रुन्छ, सुनसरीका शमुएल कोइरालाको नेपाल मेरो घर, ललितपुरका सन्ध्या महर्जनको हिउँ सः ले तनाच्वगुं मौन म्हगस (नेपाल भाषा) र चितवनको सिर्जन अविरलको जीवनको महक शीर्षकको कविता उत्कृष्ट भएका छन् । 

प्रतिष्ठानले मूल्याङ्कन समितिको मूल्याङ्कन अनुसार २५ जना कविका २५ वटा कविता वाचनका लागि छनोट गरेको थियो । वाचनका लागि प्रत्यक्ष उपस्थित हुन नसक्ने कविहरूको लागि आइतबार इमेलमार्फत कविता वाचनको भिडियो रेकर्डको व्यवस्था गरिएको थियो । 

प्रतिष्ठानका सदस्यसचिव डा. सुवेदीले तीन वर्षदेखि उत्कृष्ट दसलाई पुरस्कृत गर्दै आएको बताउँदै पहिलो र दोस्रोमा विवाद हुने देखिएकाले उत्कृष्ट दसलाई पुरस्कृत गर्न सुरु गरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रतियोगिता हुँदा सामान्य विवाद आइ नै रहन्छन् । छनोट प्रक्रियाबाट कविता छानिने हो । प्रतिष्ठानले त कवितामय माहोल बनाउन न हो ।” प्रतिष्ठानको वार्षिकोत्सवमा कविताको पनि उत्सव गर्नु पर्छ भनेर उत्सव गर्न थालिएको बताउँदै उहाँले भन्नुभयो, “उत्सव भनेर पुरस्कृत नगर्दा खल्लो हुने भएकाले पुरस्कार राशि तोकेरै दस जनालाई पुरस्कृत गर्न थालेका हौँ । यो विधि राम्रो हुने हाम्रो आँकलन छ ।” उहाँले उत्कृष्ट दसलाई दिँदा फराकिलो देखिने भएकाले यो सुरु गरिएको बताउनुभयो । पुरस्कृत सबैलाई ४० हजार रुपियाँ र ताम्रपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।