• ८ मंसिर २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडक

एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै

blog

भरतपुर, असार २ गते । नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।

तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । पाँच वर्षदेखि नारायणगढ–काठमाडौँ माइक्रो चलाइरहेका चालक रवि मोक्तान नारायणगढ–मुग्लिन सडकका ठाउँठाउँमा हिउँद वर्षा जतिबेला पनि जोखिम रहेको बताउनुभयो । उहाँले आँखा अगाडि सवारीसाधन पुरिएको स्मरण गर्नुभयो । 


उहाँको भनाइलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्कले पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन विष्टले उक्त सडकमा दुई वर्षमा चारवटा सवारीसाधन पहिरोले पुरिएको जानकारी दिनुभयो । “पहिरोले जाम मात्रै हैन सतर्कता नअपनाउँदा सवारीसाधन नै पुरिने जोखिम बढ्दो छ”, उहाँले भन्नुभयो । 

उक्त सडक खण्डमा दैनिक १० हजारको हाराहारीका सवारीसाधन र त्यसमा यात्रा गर्ने लाखौँ यात्रु यात्रा गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका सहायक हवल्दार घनश्याम चौधरीका अनुसार गत साउनदेखि अहिलेसम्म उक्त सडकमा २० पटक पहिरो झर्दा १०१ घण्टा सडक अवरुद्ध भएको छ ।

दुर्घटनाको बढ्दो क्रम

नारायणगढ–मुग्लिन सडक खण्ड स्तरोन्नति भई २०७५ साउन ४ गते डिभिजन सडक कार्यालय भरतपुरलाई हस्तान्तरण भएको हो । त्यसयताको दुर्घटनाको तथ्याङ्क हेर्दा सञ्चालनमा आएको अघिल्लो वर्षभन्दा स्तरोन्नति भएर सञ्चालन भएको वर्ष बढेको देखिन्छ । आव २०७४/७५ मा ५१ वटा दुर्घटना भएकोमा आव २०७५/७६ मा ५५ वटा भएका छन् । ती दुर्घटनामा मृतक भने दुवै वर्ष २८ रहेका छन् । त्यसपछिका हरेक वर्ष दुर्घटना बढ्दो छ । 

समस्या पहिरोको

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्डको ३६ किलोमिटर सडक विश्व बैङ्कको सहयोगमा पुनर्निर्माण भएको हो । 

सन् २०७२ सालमा ठेक्का सम्झौता भई दुई अर्ब ९० करोड रुपियाँको लागतमा ३७ महिनामा   निर्माण पूरा भएको थियो । सडक विस्तारसँगै ४० करोड रुपियाँ खर्च लगाएर सम्भावित ३१ स्थानमा सानो ठूलो पहिरो नियन्त्रण गरे पनि आयोजनाले पर्याप्त पहिरो नियन्त्रण गर्न नसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनाल स्वीकार्नु हुन्छ ।

यस सडक खण्डमा अहिले विशेष रूपमा नाम्सी खोला, चारकिलो र काली खोलाका पहिरोले दुःख दिइरहेका छन् । उसो त यो सडकसँगै जोडिएको पृथ्वी राजमार्गको मुग्लिन नजिकै पर्ने नाग्दी खोलामाथिकोे घोप्टेभिरको पहिरो पनि अहिले यो सडकका लागि टाउको दुखाइ भएको छ ।

पर्खाल तथा तार जाली निर्माणको कामलाई स्टक्चर निर्माण र बोटबिरुवा रोपेर पहिरो नियन्त्रण गर्ने कामलाई बायोइन्जिनियरिङ प्रविधि भनिन्छ । वायोइन्जिनियरिङ नेपालकै मौलिक प्रविधि हो । नेपालमा पहिलो पटक यो प्रविधिबाट पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो नियन्त्रण गर्न सफल भएको थियो । 

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारीसमेत रहनुभएका इन्जिनियर खनालले नारायणगढ मुग्लिन सडककै अहिले सबैभन्दा बढी तोपे खोला, चारकिलो र काली खोलामाथिबाट झरेको पहिरोले दुःख दिएको बताउनुभयो तर सडकको धेरै ठाउँमा पहिरो भए पनि सबैभन्दा बढी तोपे खोला र काली खोला र चारकिलोकै समस्या रहेको चालक मोक्तानले बताउनुभयो । 

सडक पुनर्निर्माणको काम सकिए पनि सडकमाथिको पहिरोको जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको इन्जिनियर खनालले बताउनुभयो । उहाँले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताउनुभयो । 

“हामीले पहिला सडक विस्तारका क्रममा पनि सडकसगैँको भित्ता काट्यौँ । त्यो व्यवस्थापन हुन नसक्दै अहिले पुनः पुल निर्माणका क्रममा सडक छेउका पहाड काट्दैछौँ” पहिरोको मुख्य समस्या औँल्याउँदै उहाँले भन्नुभयो । “अहिले मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँकै समस्या हो । पहिरो झरिरहेको तिनै ठाउँमा पुल निर्माणको काम जारी छ”, उहाँले भन्नुभयो । 

यो सडकमा निर्माण गरिँदै रहेको १९ 

पुलमध्ये चारवटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ भने १४ वटा निर्माणको अन्तिम चरणमा र एउटा निर्माण सुरु हुने प्रक्रियामा छन् ।   

पुनर्निर्माणको क्रममा काटिएका पहाडको पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टर कन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट (आईसीटी), सुशुन इन्जिनियरिङ कोरिया र फुलब्राइट कन्सल्टेन्सी नेपालको संयुक्त विज्ञ टोलीको अध्ययनका आधारमा आयोजनाले ३१ स्थानमा पहिरो नियन्त्रणको काम गरेको थियो । जसमध्ये सात ठाउँमा विशेष केन्द्रित गरिएको थियो तर पहिरो 

नियन्त्रणको प्रयास पर्याप्त हुन नसकेको अहिले झरिरहेको पहिरोले नै पुष्टि गर्दछ । “सबैभन्दा चुनौती त भूगर्भविज्ञहरूले पहिरो खस्दैन भनेकै ठाउँबाट पहिरो खसेको देखियो”, आयोजनामा काम गरिसक्नुभएका एक प्राविधिकले भन्नुभयो । 

सडक कार्यालयको अहिलेको काम भनेको जसरी हुन्छ पहिरो रोक्ने र सवारीसाधन सञ्चालनमा ल्याउने मात्रै भएको छ । त्यसका लागि मात्र वार्षिक १३ लाखको हाराहारीमा खर्च भइरहेको छ । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डीई बाबुराम सापकोटाले भन्नुभयो “जसरी हुन्छ पहिरो पन्छाउने र अवरुद्ध सडक खुला गर्ने काम मात्रै भएको छ । यसका लागि एक्साभेटरसहितका प्राविधिक २४सै घण्टा सडकमै परिचालन भएको अवस्था छ ।” माथिबाट खस्ने कमजोर माटोलाई खस्नबाट रोक्ने थप काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संरचना निर्माण र बायोइन्जिनियरिङ दुवै विधिबाट पहिरो नियन्त्रण गर्नुपर्ने बताउनुभयो । 

Author

वसन्त पराजुली