• ८ असार २०८२, आइतबार

डिपिआरमा लाखौँ खर्च

blog

कालीकोट समाचारदाता

कालीकोट, असार ८ गते । जिल्लाको पलाता गाउँपालिकाले यकिन नभएका योजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा ठुलो रकम खर्च गरेको पाइएको छ । गाउँपालिकालाई आवश्यक पर्ने योजनाको डिपिआर अघिल्लो स्थानीय सरकारले गरेको भए पनि फेरि विभिन्न योजनाको नाम दिएर डिपिआर गराई ७४ लाख २३ हजार ५४२ रुपियाँ खर्च गरेको पाइएको हो । 

बजेट व्यवस्था भई कार्यान्वयन हुने योजनाको मात्र डिपिआरलगायतको अध्ययन गरी लागत प्रतिवेदन तयार गर्नु पर्दछ तर पलाता गाउँपालिकाले विभिन्न छ वटा आयोजनाका नाममा छ वटै परामर्शदाताका नाममा सम्झौता गरी सो रकम सकाएको हो । कतिपय आयोजनाको जम्मा लागत अनुमान पनि उल्लेख गरिएको छैन । 

गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बमले यी योजना पहिला नै छनोट गरेर लागत अनुमानसमेत तयार गरिसकेको भए पनि गाउँपालिकाले फेरि के कारणले डिपिआर गरियो आफूलाई जानकारी नभएको बताउनुभयो । पलातामा सम्भावित आयोजना के हुन सक्छन् भनेर अहिलेका गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायासहितको राजनीतिक दलका नेता र सबै सरोकारवाला राखेर योजनाको छनोट गरेको र त्यही अनुसार डिपिआर गराएर लगानी खोज्ने सहमति भए पनि पछिल्लो सरकारले मनपरी डिपिआरको नाममा होस् वा अरू कुनै नाममा बजेटको दुरुपयोग गरिरहेको निवर्तमान अध्यक्ष बमको भनाइ छ । 

महालेखा परीक्षकको कार्यालयले आव २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा डिपिआर गर्दा स्वीकृत बजेटकै हाराहारीमा भुक्तानी लिएको उल्लेख छ । योजना छनोटका लागि भनेर नाम ताकेर आएको आयोजनाको सबै पहिलो किस्ताको रकम गुरुयोजना निर्माणमा खर्च गर्नु अनुपयुक्त भएकाले यस्ता कुरामा सुधार गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयको भनाइ छ ।

यसरी खर्च गर्नु गाउँपालिकाका हकमा अनियमितता भएको उल्लेख छ । स्थानीय लङ्कबहादुर बमले पलाताको मनपरी अति भए पनि रोक्नेतर्फ स्थानीय सरकारको कुनै कानुनी निकाय नभएको बताउनुभयो ।