नेपालमा समय समयमा विविध किसिमका आन्दोलन हुँदै आएका छन् । यसै क्रममा ‘जयतु संस्कृतम्’ पनि एउटा अविस्मरणीय र अद्वितीय आन्दोलनको रूपमा रहिआएको छ । यो आन्दोलनको आफ्नै किसिमको अस्तित्व, वर्चस्व र भूमिकाको कारणले गर्दा नै प्रत्येक वर्ष असार १ गतेलाई ‘जयतु संस्कृतम्’ का रूपमा प्रभातफेरी र अन्य विविध कार्यक्रम गरी मनाउने गरिएको पाइन्छ ।
यसरी ‘जयतु संस्कृतम्’ नेपाली समाजको एउटा अभिन्न आयाम बन्दै आएको छ । यसो हुनुका पछाडि स्वतन्त्रता र सामाजिक पक्षको विषयमा यो आन्दोलनले निर्वाह गरेको भूमिका प्रंशसनीय रही आउनु नै हो । परिवर्तनका दिशामा अग्रणी भूमिका मात्र निर्वाह नगरी समाजमा मानसिक, नैतिक, अध्यात्मिक र भागवत् सभ्यता आदिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको कारणले यो आन्दोलन स्वयम्मा नेपालको एउटा अविस्मरणीय, सार्थक र गौरवशाली विषयको रूपमा रहिआएको इतिहास साक्षी छ ।
संस्कृत शिक्षामा पनि अङ्गे्रजी, भूगोल, इतिहास, अर्थशास्त्र, गणित आदि आधुनिक विषय समावेश गरिनु पर्छ भन्ने उद्देश्यका साथ विसं २००४ असार १ गतेदेखि आरम्भ भएको यो आन्दोलन मङ्सिर महिनासम्म सञ्चालित थियो । यस दृष्टिले हेर्दा राणाकालीन क्रूर शासन समयमा संस्कृत वाङ्मयको संरक्षण र उत्थानका साथै संस्कृत विषयको पठनपाठन प्रणालीमा आधुनिक विषय पनि समावेश गरिनु पर्छ भनेर संस्कृतका विद्यार्थीद्वारा अत्यन्त सक्रिय भूमिका निर्वाह गर्दै गरिएको यो आन्दोलन एउटा लामै आन्दोलनको रूपमा सुपरिचित आन्दोलन बनेको छ ।
यो आन्दोलनले प्रत्यक्ष रूपमा संस्कृत वाङ्मयको संरक्षण र संस्कृत शिक्षाको समुत्थानको उद्देश्य लिएको थियो । यसो भए पनि अप्रत्यक्ष रूपमा भने जनमानसमा लोकतन्त्र स्थापनाका माध्यमबाट समाजका सबै सदस्यमा सही अर्थमा मनुष्यत्वको भाव उत्पन्न गरी शोषणरहित न्यायपूर्ण र समतामूलक समाजको स्थापना गर्ने लक्ष्यबाट नै यो आन्दोलन विशेष रूपमा अभिप्रेरित थियो । प्रस्ट छ यो आन्दोलन तत्कालीन राणा शासनको निरङ्कुश हुकुमी शासनविरुद्ध परिलक्षित थियो र यसले नेपालमा विधिको शासनको आवश्यकता बोध गरेको थियो । यसरी यो स्वयम्मा नेपालका विद्यार्थीद्वारा नेपालमै सञ्चालित एउटा अविस्मरणीय पहिलो ऐतिहासिक विद्यार्थी आन्दोलन थियो भन्ने तथ्य स्वतः स्पष्ट हुन्छ । त्यसबेलाको कठोर शासनका समयमा यस्तो कार्य गर्नु निश्चय पनि अति दुरुह काम थियो । आफ्नो जीवन नै दाउमा पारेर आन्दोलनको क्रममा नेपालका विद्यार्थीले आफ्नो उद्देश्य परिपूर्तिका लागि धैर्य, संयम, आत्मबल र साहसका साथ जुन किसिमको भूमिका निर्वाह गरे त्यो निकै प्रशंसनीय रहिआएको छ ।
यो आन्दोलन स्वयम्मा एउटा अमूर्त आन्दोलन थियो । बाहिरी रूपमा राणा शासनविरुद्ध सञ्चालित जस्तो नदेखिने यो आन्दोलनको प्रारम्भ विविध टोल टोलमा ‘श्रीमद्भागवत् सप्ताह’ वाचन गरी भएको थियो । आन्दोलनरत विद्यार्थी संस्कृत शिक्षाको संरक्षणका नाउँमा घरदैलो वा सडकमा पुगेर भिक्षा दान माग गर्दथे । उनीहरू टोल टोलमा पुगेर भागवत् वाचनको आयोजना गर्दथे । मनकारी दाता र जिज्ञासु श्रोताको साथ पाएर आन्दोलनकै लागि सञ्चालन गरिएको सप्ताह वाचन कार्यक्रम पछि गएर लोकतान्त्रिक चेतना विस्तारको सशक्त माध्यम नै बन्न पुग्यो । यस क्रममा श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, पूर्णप्रसाद ब्राह्मण, कमलराज रेग्मी, प्रेमनारायण शर्मा गौतम आदि अनेकौँ व्यक्तिले अत्यन्त कठिन तर सार्थक भूमिका निर्वाह गर्न सकेको पाइन्छ ।
काठमाडौँवासीको राम्रो साथ पाएकाले आन्दोलनकारीलाई हौसला प्रदान गर्ने कार्यमा सप्ताह वाचन कार्यक्रमले थप ऊर्जा प्रदान ग¥यो । दृश्य रूपमा संस्कृत वाङ्मयको विकास र अदृश्य रूपमा राणा शासनविरुद्ध चेतना–विस्तार गर्ने मूल उद्देश्यका साथ अगाडि बढेको यो कार्यक्रमले अलि पछि गएर राणा शासकका मनमा संशय उत्पन्न गराउन पुग्यो । सप्ताह कार्यक्रमको सूक्ष्म दृष्टिका साथ निरीक्षणका लागि अनेकौँ पोख्त सुराकी खटिए । यसपछि ‘जयतु संस्कृतम्’ आन्दोलनलाई कमजोर पार्न वा सुस्त पार्न अनेकौँ प्रपञ्च रचियो । यसक्रममा छलकपट झेलबखेडा आदि अनेकौँ खेल भए गरिए । आन्दोलनकारी विद्यार्थीलाई पूर्ण रूपमा काठमाडौँ उपत्यकाका जनताको सहानुभूति र समर्थन प्राप्त थियो । त्यसै कारणले राणा शासकहरूका लागि सहज किसिमले यो आन्दोलनलाई पूर्ण रूपमा तितरवितर पार्ने काम सोचे जस्तो सहज हुन सकेन । यसपछि आन्दोलनलाई बर्बर किसिमले दमन गर्ने नीति लिई राणा शासकहरूले आन्दोलनकारीमाथि कठोर प्रहार गर्न सुरु गरे । यसरी आन्दोलन दबाउने नीति लिइएका कारण समालिँदासमालिँदै पनि आन्दोलनकारी विद्यार्थी तितरवितर हुन पुगे । केही समयछि अझ राम्ररी सङ्ठित भएर विसं २००४ को मङ्सिर २१ गतेदेखि उनीहरूले फेरि पनि ‘जयतु संस्कृतम्’ को नारा लगाउँदै झन् कडा र सशक्त प्रकृतिको आन्दोलन प्रारम्भ गरे । भोलिपल्टै अनेकौँ विद्यार्थीलाई देश फर्कन नपाउने गरी देश निकाला गरियो । उनीहरूलाई नेपालमा पढ्न, जागिर खान, बस्नसमेत नपाउने आदि सजाय सुनाइयो । धेरैको चारपाटा मुडियो । देश निकाला गरिएका विद्यार्थी अत्यन्त कठिनताका साथ बनारस पुगे । उनीहरू त्यहाँ पनि राणा शासनविरुद्ध सङ्गठित हुन पुगे । कतिपय विश्वेश्वरप्रसाद कोइरालाको संसर्गमा पुगे र नेपाली कांग्रेसमा आबद्ध भए । यी विद्यार्थीमध्ये कतिपय त नेपाली कांग्रेसको कार्य समितिमा समेत रही नेपालको प्रजातान्त्रिक आन्दोलनमा सरिक हुन थाले । बनारस पुगेका तर नेपाली कांगे्रससँग आबद्ध हुन नचाहेका केही अन्यत्रतिर लागे । उनीहरू पनि आआफ्नो किसिमले नेपालमा राणा शासनको अन्त्य र विधिमा आधारित लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाको पक्षमा कुनै न कुनै रूपमा सङ्गठित भएर लागि परेका थिए ।
यसरी हेर्दा विसं २००७ को क्रान्तिको पृष्ठभूमिको रूपमा नेपालका विद्यार्थीले नेपालभित्र सञ्चालन गरेका ‘जयतु संस्कृतम्’ आन्दोलन स्वयम्मा नेपालमा प्रजातन्त्रका स्थापनाको ‘बीज भूमि’ थियो । विसं १९९७ मा सहिदहरूको त्याग, समर्पण र बलिदानपछि एकतन्त्रीय राणा शासनको अवसानका दिशामा विसं २००४ मा सञ्चालित ‘जयतु संस्कृतम्’ आन्दोलनले पनि अत्यन्त सार्थक भूमिका निर्वाह गरेको थियो भन्ने यथार्थ अस्वीकार गर्न सकिँदैन ।
विश्वका अनेकौँ विश्वविद्यालयमा संस्कृत विषयको पठनपाठन हुन्छ । तर नेपालमा यसको महìव र महिमा अनि विशेषतालाई मनन नगरी यसलाई केवल कर्मकाण्डी विषयका रूपमा लिने वा हेर्ने सङ्कीर्ण सोच र दृष्टिकोण अझै व्यापक छ । संस्कृत भाषाको उद्गम थलो मानिएको नेपाल र नेपालीका लागि यो विषय अत्यन्त विडम्बनापूर्ण र दुर्भाग्यको विषय बन्दै आएको छ । शब्द भण्डार, साहित्य, दर्शन, ज्योतिष, अर्थशास्त्र, राजनीतिशास्त्र आदि अनेकौँ विधाका विशेषता संस्कृत वाङ्मयमा छ । यति हुँदाहुँदै पनि विश्वमा यसको प्रयोग बढ्नु र नेपालमा यसको अधोगति हुँदै गएको देखा पर्नु निश्चय पनि विडम्बनापूर्ण छ । उपर्युक्त यथार्थलाई मनन गर्दा लोकतान्त्रिक शासन व्यवस्था र विधिको शासनका सापेक्षतामा संस्कृत वाङ्मयको महत्व बुझेर यसलाई समयसापेक्ष रूपमा सार्थक गन्तव्य प्रदान गर्ने कार्यमा अल्पकालीन र दीर्घकालीन सरकारी योजना अझै आउन नसकेको विषयलाई भने निश्चय पनि दुर्भाग्यपूर्ण विषय मान्नु पर्छ ।
‘जयतु संस्कृतम्’ ले विसं २०५४ मा स्वर्ण महोत्सव मनाइसकेको छ । यसले विसं २००४ देखि २०८२ सालसम्मका समयावधिभित्र अनेकौँ आरोहअवरोह पार गरेको छ । विसं २०५५ मा आएर यसले संस्थागत स्वरूपसमेत प्राप्त गरिसकेको छ । अहिले ‘जयतु संस्कृतम्’ आफैँमा संस्था बनिसकेको छ । यो स्वदेशमा मात्र होइन विदेशमा पनि पैmलिएको छ । यस अन्तर्गत अनेकौँ कार्यक्रम पनि हुँदै आएका छन् । यति हुँदाहुँदै पनि संस्कृत वाङ्मयको संरक्षण, संवर्धन र यसको विकासका लागि विश्वसनीय किसिमले राष्ट्रको सत्प्रयास अगाडि बढ्न सकेको भने पाइँदैन । संस्कृत आफैँमा विशिष्ट वाङ्मय हो । विश्वका अनेकौँ भाषाभित्र मात्र होइन नासाको अध्ययन अनुसन्धानमा पनि यो भाषाप्रति विशेष आकर्षण बढेको छ । कम्प्युटरको भाषा पनि संस्कृतलाई नै बनाउनुपर्ने सोच अगाडि बढिरहेको छ । यी यथार्थलाई मनन गर्दा नेपालमा संस्कृत वाङ्मयको उन्नयनप्रति उदासीन हुनु आश्चर्यजनक विषय बन्दै आएको छ ।
संस्कृतको अधोगति हुनु भनेको नेपाली संस्कृति र सभ्यतालाई नै क्रमिक रूपमा ओझेलमा पार्दै जानु हो । यो एक किसिमले आर्य सभ्यतामाथि नै प्रहार गर्दै जानु हो । यो आफ्नो खुट्टामा आफैँ बन्चरो प्रहार गर्दै जानु जस्तै हो । यस यथार्थप्रति सम्बद्ध पक्षले समयमै ध्यान पु¥याउनु आवश्यक छ । यस दिशामा संस्कृतका विद्वान्, सम्बद्ध सबै पक्ष र सरकारको संयुक्त, सार्थक र ऐक्यबद्ध प्रयास अगाडि बढ्न सक्नु आजको सामयिक आवश्यकताको विषय बन्न पुगेको छ । ‘जयतु संस्कृतम् ।’