• ७ असार २०८२, शनिबार
blog

गत एघार वर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस बडो उत्साहका साथ मनाउँदै आइरहेका छौँ । निःशुल्क अथवा अति नै न्यून खर्चमा शरीरभित्र रहेका अनेकौँ रोगको उपचार यसबाट सहजै रूपमा सम्भव भएकाले यसप्रति आकर्षण बढ्दै गएको छ । नियमित रूपमा योग गर्नाले रोगको सम्भावनालाई नै समाप्त गर्न सकिन्छ । योगको माध्यमबाट विश्वका करोडौँ मानिस लाभान्वित भएका छन् ।

वर्तमान अवस्थामा योगिक विज्ञान जति महत्वपूर्ण साबित भइरहेको छ, यसअघि यो यति बढी महत्वपूर्ण थिएन । वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधन उपलब्ध छन्, जो विश्वको निर्माण एवं विध्वंस दुवै गर्न सक्षम छ र गरिरहेको छ पनि । यस्तो अवस्थामा यो निकै महत्वपूर्ण हुन जान्छ कि हामीलाई जीवनप्रति जागरुकता एवं यस्तो भाव कायम रहोस् ताकि हामी प्रत्येक प्राणीमा आफ्नै शरीरको अंश रहेको अनुभूति गर्न सकौँ । यदि मानव जाति आफ्नो जीवनमा एकात्मकतालाई तथा जीवनको योगलाई सम्झिरहेका छन्, त्यसको अनुभूति गरिरहेका छन् भने विश्वमा अवश्य पनि ठुलो परिवर्तन आउन सक्ने छ । जीवनप्रतिको आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन, व्यापकतामा कमी ल्याएर मात्रै मानव जातिका सबैखालै समस्याको समाधान सम्भव छ । मानव कल्याण एवं आत्मिक विकासको दिशामा यसले ठुलो परिवर्तन ल्याउने निश्चित छ । 

योगमा तनावरहित मस्तिष्क एवं स्वस्थ शरीरको मूल तत्व केन्द्रित रहेको हुन्छ । योग भनेको जोड्नु हो । योगले प्रेम, अहिंसा करुणा एवं सबैलाई सँगसँगै लिएर अगाडि बढ्ने भाव आफूमा केन्द्रित गरेको हुन्छ । आन्तरिक एवं आत्मिक विकास तथा मानव कल्याणसँग जोडिएको विज्ञान हाम्रो भावी पुस्ताका निम्ति ठुलो निधि साबित हुन सक्छ । योग हाम्रो विरासत हो । नेपाल एवं भारत दुई छुट्टा छुट्टै स्वतन्त्र अस्तित्वको देश अवश्य पनि छन् तर हिन्दु धर्म, संस्कृति, पुराण, वेद, उपनिषद्, देवी देवता, तीर्थस्थल महान् ऋषिमुनिहरू हाम्रा निम्ति एक समान पुजनीय, आदरणीय एवं प्रातः स्मरणीय छन् । योगको बारेमा विश्वजगत्लाई अवगत गराउने काम विगतमा पनि नभएका होइनन् तर त्यो साह्रै सीमित थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जब आफ्नो अमेरिकाका यात्रा दौरान तथा संयुक्त राष्ट्रसङ्घमा योगको महत्वबारे विश्वजगत्लाई राम्ररी सम्झाउने काम गरे अनि यसले विश्वव्यापी मान्यता हासिल ग¥यो । इस्लामिक देशसहित विश्वका झन्डै दुई सय देशले अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएका छन् । साउदी अरब र इरान जस्ता कट्टर इस्लामिक देशहरूमा पनि राजकीय स्तरबाट यसको आयोजना भइरहेका छन् । हाम्रो महान् ऋषिमुनिप्रति पनि हामीले कृतज्ञता ज्ञापन गर्नु उचित हुने छ । सनातन धर्म एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ । जसमा योग, शाकाहारी जीवनशैली, सत्य, अहिंसाको प्रयोग जस्ता विषय पनि छन् । गणित, विज्ञान एवं खगोलको क्षेत्रमा पनि यसले विश्वजगत्लाई धेरै थोक दिएको छ । योग शरीर एवं मनलाई स्वस्थ राख्ने एउटा वैज्ञानिक माध्यम हो । भनिन्छ मार्सल आर्टका जनक पनि हिन्दु र बौद्ध सन्त नै थिए । हिन्दु संस्कृति जस्तै युनान, मिश्र, अरब एवं अनेकौँ संस्कृतिले विश्वजगत्लाई केही न केही अमूल्य निधि प्रदान गरेको छ । शून्य र दशमलवको प्रयोगको थालनी पनि यहीबाट भएको हो ।

योगका सूत्रमा आस्था एवं अन्धविश्वासका निम्ति ठाउँ छैन यो पनि गणित र विज्ञान जस्तै प्रयोगमा आधारित छ । प्रयोगबाटै विश्वास गर्न सकिन्छ । दर्शन एवं विज्ञान सङ्कीर्ण हुनै सक्दैन । योग परम स्वास्थ्यको विज्ञान हो तथा अनन्तको दर्शन पनि हो । अस्तित्व असीमित एवं अनन्त छन् । हामी सबै एकाइ मात्रै हो जबकि अस्तित्व सम्पूर्ण । एकाइ हुनु दुःख हो भने अनन्त हुन आनन्द हो । योग एकाइमा आनन्दको अनुभूति हुने गर्छ । योगको सोझो अर्थ हो जोड्नु । पतञ्जली (इसापूर्व १८४–१८५) ले योग सूत्र लेखेका थिए तर योग पतञ्जलीभन्दा पनि प्राचीन हो । मनुस्य एवं ब्रह्माण्डको एकात्मक दर्शनको यो विज्ञान भारत वर्षबाटै सुरु भएको हो । विश्वका अनेकौँ देशले यसलाई अपनाउने काम गरे तथा यसलाई योगको ठाउँमा योगा भन्ने गरे । योग विज्ञानले अन्तर्राष्ट्रिय महत्व एवं मान्यता पाउनुबाट यस क्षेत्रले खुसी मनाउनु पर्ने हो । योगको विस्तार एवं प्रभावसँगै यस क्षेत्रको महत्व पनि बढ्ने छ । मीमांसा, न्याय वैदेशिक साङ्ख्य वेदान्त एवं योग भारत वर्षका सात प्राचीन दर्शन हुन् । बुद्ध र जैन दर्शनको थालनी पनि यहीबाट भएको हो तर साङ्ख्य एवं योग प्राचीन दर्शन हो । स्वस्थ शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो । शायद त्यही भएर वैदिक ऋषिहरू काम गर्दा गर्दै एक सय वर्षसम्म बाँच्ने अभिलाषा गर्दथे ।

जुन २१ का दिन पृथ्वीमाथि सूर्यको उपस्थिति निकै लामो समयसम्म हुने गर्छ । सम्भवतः यिनै कारणले होला यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय राष्ट्रसङ्घले गरेको हुन सक्छ । यस भन्दाअघि सन् २०११ मा भारतको दक्षिणी प्राप्त बेंगलुरुमा विश्वका केही योग गुरुको बैठकमा पनि २१ जुनका दिनलाई योग दिवसको रूपमा मनाउने निर्णय गरिएको थियो । सूर्यलाई ऊर्जाको सबैभन्दा ठुलो एवं अक्षयस्रोत मानिन्छ । पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जाको स्रोत प्राप्त हुने विश्वास गरिन्छ । हामी आफ्नो योगको पद्धति एवं त्यसको परिणामलाई सोझो रूपमा ऊर्जासँग जोडेर हेर्ने गर्दछौँ । जबकि यथार्थमा योगको अर्थ त जोड्नु हुन्छ । ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो, कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्नु । जसमा जति जोडिने तथा जोड्न सक्ने योग्यता हुन्छ त्यो त्यति नै क्षमतावान् पनि कहलिन्छ । ऊर्जामा वृद्धिका निम्ति मात्रै जोडिनु नै पर्याप्त होइन । त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्छ । एक आपसमा जोडिनेको दिशा पनि एउटै हुनु पर्छ । जोड्नु त्यतिबेला मात्रै सम्भव हुन सक्छ, जब दुवैको दिशामा एउटा मात्रै रहेको हुन्छ । जोडिएपछि दिशा भिन्दाभिन्दै भयो भने ऊर्जाको क्षरण मात्रै हुन्छ ।

योगको मूल उद्देश्य व्यक्तिको शारीरिक, मानसिक एवं आत्मिक ऊर्जामा वृद्धि गरी व्यक्तिलाई त्यसको क्षमताको उच्चतम विन्दुसम्म पु¥याउनु हो । यसका निम्ति योग दिशा तथा जोड्नुको सिद्धान्तलाई सँगसँगै लिएर हिँड्ने गर्छ । योग मुख्यतः शरीर, मन एवं आत्मा यी तीनलाई कुनै एउटा निश्चित विन्दुसम्म एकजुट गर्ने प्रक्रिया पनि हो । ऊर्जाका हाम्रा यी तीनवटै उत्पादन केन्द्र बेग्लाबेग्लै दिशामा काम गरिरहेका हुन्छन् तर योग तीन वटैलाई प्राप्त भइरहेको हुन्छ । योगमा मनलाई प्राण (श्वास) सित सामन्जस्य स्थापित गरिन्छ । यसको परिणामस्वरूप व्यक्ति न केवल शारीरिक, मानसिक एवं आत्मिक रूपमा बढी प्रबल हुन जान्छन्, अपितु तिनको शारीरिक स्वास्थ्यमा पनि वृद्धि हुने गर्छ । जब व्यक्ति यी तीन वटै माथि नियन्त्रण स्थापित गरी यीमध्ये कुनै पनि काममा आफूलाई लगाउने गर्छ अनि कार्यको गुणस्तर तथा सङ्ख्याको दृष्टिमा पनि कैयौँ गुणा वृद्धि हुन जान्छ । यो नै सूर्यको ऊर्जा एवं योगको पद्धति सँगको सम्बन्ध पनि हो ।

आममान्यता यही रहिआएको छ कि महर्षि पतञ्जलीले नै आधुनिक योगको आधार खडा गरेका थिए तर बृहतारण्यक उपनिषद्मा पनि श्वासमाथि नियन्त्रण गर्ने विषयमा विस्तार पूर्वक वर्णन गरिएको पाइन्छ । हाम्रा पुर्खाहरूले अशान्त मनलाई शान्त पार्नका निम्ति यस पद्धतिको आविष्कार गरेका थिए । वर्तमान अवस्थामा विश्वका चिकित्साशास्त्री वर्तमानको जीवनशैलीलाई प्रत्येक रोगको कारण मानेका छन् तर यसको सरल समाधान भनेको योग नै हो । योगले विश्वव्यापी मान्यता प्राप्त गरेको छ । योग हाम्रो धरोहर हो र यसमाथि हामीले गर्व गर्न सक्नु पर्छ ।

बेरोजगार युवाका निम्ति यो एउटा नयाँ अवसर पनि साबित हुन सक्छ । कठिन परिश्रम गरेर विदेशमा केही सीमित पैसा कमाउनुभन्दा मान सम्मानसहित काम पाउने गरी काम गर्नुमा के को लाज र 

सङ्कोच ? योगलाई अन्य धर्मावलम्बीले आत्मसात् गरी यसबाट लाभ उठाउन सक्छन् । भाषा, बोली, पहिरन, पानी, जमिन तथा जीवनको कुनै धर्म हुँदैन । ११ डिसेम्बर २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आफ्नो प्रस्तावमा भनेको छ, ‘योग मानव स्वास्थ्य एवं स्वस्थ जीवनशैलीको बारेमा समग्र दृष्टिकोण व्यक्त गर्छ । यसबाट हुने लाभको प्रसार विश्वको जनसङ्ख्याका निम्ति कल्याणकारी साबित हुने छ ।’ संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव वान की मुनले पनि योग विचार तथा कर्मको अदभूत सामञ्जस्य भएको तथा स्वास्थ्यका लागि आवश्यक भएको बताउनुभएको थियो । योगबाट शान्ति एवं विकासमा योगदान मिल्छ । यसले मानिसलाई तनावमुक्त गर्छ । उहाँले सबै सदस्य देशसँग योगको प्रोत्साहनका लागि सहयोग गर्न अनुरोध पनि गर्नुभएको थियो ।

विश्वका अनेकाँै देश तथा विश्वविद्यालयमा अनुसन्धानमार्फत यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योग शारीरिक स्वास्थ्य, मानसिक तनावबाट बचाउ गर्नुका साथै मानसिक शान्ति प्रदान गर्नमा पनि सक्षम छ । विश्वप्रसिद्ध उमेरिकी वोस्टन विश्वविद्यालयको स्कुल अफ मेडिसिनद्वारा मई २०१२ मा प्रकाशित मेडिकल हाइपोथिसिस जर्नलमा यो प्रतिपादित गरिएको थियो कि पुरानो रोग तथा दुर्घटनापश्चात् सामान्य हुने तनाव मुक्तिका निम्ति योग निकै प्रभावशाली साबित हुन सक्छ । किनभने योग ‘सेंटुल नर्भस सिस्टम’ को आधार मानिएको तन्तीका भेगर्स नर्वलाई प्रचुर मात्रा ऊर्जा प्रदान गर्छ । त्यसै गरी हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई यस्ता स्वास्थ्यजन्य रोगको समाधानमा सर्वाधिक सक्षम मानेको छ ।

योगले एक किसिमको पश्चिमेली मानसिकताबाट प्रभावित तथा कथित आधुनिक सोचको तीन आयामलाई बदलिदिन्छ जस्तो कि पश्चिमेलीहरूको विचारमा शारीरिक समस्याका समाधान बाहिरबाट हुन्छ भने मान्यता राख्छ । जबकि योगले के सिकाउँछ भने यसको समाधान मुख्यतः शरीरको भित्रबाट हुन्छ । हामी सङ्घर्ष गरेर मात्रै सुख शान्ति हासिल गर्न सक्छौँ तर योगको अनुसार प्रकृतिसँग तादात्मय स्थापित गरेर पनि हामी सुख एवं शान्ति प्राप्त गर्न सक्छाैँ । मानसिक व्यवस्था कायम गरी रोग स्वस्थ रहनका निम्ति रोगको उपचार गर्नुपर्ने मान्यता विपरीत एउटा निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी रोगलाई लाग्न दिनबाट नै धेरै हदसम्म रोक्न सकिन्छ । एक किसिमले योग एउटा यस्तो माध्यम हो, जसले बिनाधन खर्च व्यक्तिलाई स्वस्थता प्रदान गर्न सक्छ । यो समाजका निर्धन वर्गका निम्ति वरदान साबित हुन सक्छ । सनातन धर्म संस्कृतिको सार्थक उपयोग हाम्रा निम्ति सफ्ट पावर पनि साबित हुन सक्छ ।