• ७ असार २०८२, शनिबार

रोगप्रतिरोधका लागि योग

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले योग ध्यानले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनावबाट मुक्त बनाएर सकारात्मक ऊर्जा प्राप्त हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले योगका माध्यमबाट दैनिक कार्य क्षमतामा वृद्धि हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रपतिले योग ध्यानले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना एवं स्थिरतातर्फ डो¥याउने भएकाले मानिसलाई स्वस्थकर जीवनयापन गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले योग अभ्यासले शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्त्विक तथ्यले नेपाल योग भूमिका रूपमा रहेको पुष्टि हुँदै आएको देखिन्छ ।”  

योग जीवनपद्धति 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले योग शारीरिक अभ्यास मात्रै नभएर आममानिसको जीवन पद्धति नै भएको बताउनुभएको छ । उपराष्ट्रपतिले विश्वव्यापी रूपमा बढ्दो मानसिक तनाव, शरीरिक निष्क्रियता र जीवनशैलीजन्य समस्या समाधान गर्न योग प्रभावकारी हुने स्थापित भइसकेको बताउनुभयो ।