• ६ असार २०८२, शुक्रबार

घरमै सुत्केरी हुने चलन कायमै

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), असार ६ गते । जुम्ला पातारासी गाउँपालिका–३ अन्तर्गत पर्ने हुरी र महरी गाउँका महिला हालसम्म पनि घरमै सुत्केरी हुँदै आएका छन् । अन्धविश्वास गाउँका महिला अझै घरमै सुत्केरी गराउने गरेका हुन् । वडा नं. ३ को लौठचौरनजिकै बर्थिङ सेन्टर हुँदा पनि महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । 

बर्थिङ सेन्टरमा गर्भ परीक्षण गर्न आउने गरे पनि बच्चा भने घरमै जन्माउने गरेको वडाध्यक्ष गोविन्द रावतले बताउनुभयो । अन्धविश्वास र धामीझाँक्रीका कारणले हुरी र महरी गाउँका महिलाले घरमै बच्चा जन्माउने गरेको अनमी दुबा बुढाले बताउनुभयो । जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेको उहाँको भनाइ छ । यो वर्ष हुरी गाउँका दुई जना महिलाबाहेक अरू सबै महिलाले घरमै बच्चा जन्माएका छन् । 

छुम र चौरगाउँका महिला बर्थिङ सेन्टरमा बच्चा जन्माउन आउँछन् तर हुरी र महरी गाउँका महिला  घरमै बच्चा जन्माउने गरेका छन् । हुरीमा ७८ र महरीमा ५० घरधुरी रहेको वडाध्यक्ष गोविन्द रावतले बताउनुभयो । हुरी र महरी गाउँबाट बर्थिङ सेन्टरसम्म आउन करिब दुई घण्टाको समय लाग्ने उहाँको भनाइ छ । महरीगाउँका शतप्रतिशत महिला घरमै सुत्केरी हुने गर्छन् । बर्थिङ सेन्टरमा सुत्केरी हुँदा प्रोत्साहनबापत हिमाली जिल्लामा यातायातबापत तीन हजार र आठ पटक नियमित गर्भजाँच गराउँदा आठ सय रुपियाँ सरकारले दिने गरेको छ । 

सहज बाटो र बर्थिङ सेन्टरसम्म सुत्केरी बोकेर ल्याउने जनशक्तिको अभावमा घरमै बच्चा जन्माउने गरेको अनमी बुढाले बताउनुभयो । व्यथा लाग्दा गाउँकै महिलाले घरमै बोलाएर सुत्केरी गराउने प्रचलन कायम छ । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा पुगेर सुत्केरी गराउँदाका फाइदाका बारेमा जानकारी दिएका छौँ, अन्धविश्वासले गर्दा आउन मान्दैनन् ।” घरमै सुत्केरी गर्दा ज्यान जोखिममा पर्ने, सुत्केरीको सङ्क्रमण हुने, शिशुको मृत्यु जस्ता जोखिम हुन सक्ने उहाँको भनाइ छ । 

स्वास्थ्यकर्मीको निगरानी नहुँदा रक्तस्राव हुने र नवजात शिशुको मृत्यु जस्ता जटिल समस्या देखा पर्न सक्ने उहाँले बताउनुभयो । स्वास्थ्य संस्थामा पुग्नु साटो धामीझाँक्रीको भर पर्ने चलन अझै कायम छ । वडाध्यक्ष रावतले अन्धविश्वास हटाउन अभियान चलाउनुपर्ने, धामीझाँक्रीलाई प्रशिक्षण दिई स्वास्थ्यसँग सहकार्य गर्न उत्प्रेरित गर्न सकिने बताउनुभयो ।