बाबुराम देवकोटा
दुधौली (सिन्धुली), असार ६ गते । दुधौली नगरपालिका–६, निवासी किसान किसुनलाल दनुवारलाई आफ्नो खेतमा कमला नदी बग्दा मन कुडिएर आउँछ । आफ्नो खेतमा नदी बगेको हेरेर मन अमिलो बनाउनुको विकल्प छैन । उहाँको ११ कट्ठा खेत यतिखेर बगरमा परिणत भएको छ ।
विसं २०४० र २०५० मा कमला नदीमा आएको बाढीले सबै खेत बगाएर आफूलाई सुकुम्वासी बनाएको उहाँले दुःख व्यक्त गर्नुभयो । दनुवारले भन्नुभयो, “कमलाखुँज फाँटमा अरू किसानलाई मौसम अनुसारको खेती लगाउन भ्याइनभ्याइ छ, आफू भने बगर हेरेर भक्कानिँदै बस्नु परेको छ ।” खेत कमला नदीले बगाएपछि अहिले गाउँमा अरूको बनिबुतो गरेर परिवार पालिँदै आएको उहाँले सुनाउनुभयो । कमलाखुँज क्षेत्रमा कमला नदीको बाढीले बर्सेनि उर्वरभूमि कटान गर्दै गएपछि सयौँ भूमिपति किसान उहाँ जस्तै सुकुम्वासी बनेका छन् । स्थानीय किसानका अनुसार कमलाखुँज क्षेत्रको फाँटमा रहेका बाँकी खेत पनि नदी कटानबाट सुरक्षित छैन ।
कमला नदीको कटानबाट कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ सहित दुधौली नगरपालिकाका वडा नं. १ देखि १० सम्मका किसान प्रभावित हुँदै आएका छन् । उनीहरूका अनुसार नदी कटानको समस्या बढ्दो रूपमा देखापरेको तीन दशकभन्दा बढी भए पनि त्यसलाई नियन्त्रण गर्न कुनै पनि निकायबाट प्रभावकारी काम हुन नसक्दा भूमिपति किसान सुकुम्वासीमा परिणत हुने क्रम बढ्दै गएको छ ।
दुधौली नगरपालिका–११ निवासी किसान तेजबहादुर कार्की कमला नदीले गाउँमा रहेका झन्डै दुई सय परिवारको चार सय बिघाजति खेत बगाएको र उनीहरूको अवस्था पनि उस्तै रहेको उहाँले जानकारी दिनुभयो । कमला नदीले खेत बगाएका किसान यतिखेर दैनिक मजदुरी नगरे चुलोमा आगो नबल्ने बताउनुहुन्छ । भएको खेतको आम्दानीले राम्रोसँग परिवार पालिँदै आएकोमा अहिले अधिकांश किसान बगर बनेको खेत हेरेर दिन बिताउन बाध्य भएको उहाँको भनाइ छ ।
कमला नदीको पीडा सहेर बस्न बाध्य किसान दुधौली नगरपालिकामा सयौँको सङख्यामा छन् । स्थानीय किसान कार्कीले भन्नुभयो, “नदी नियन्त्रण नहुँदा बर्सेनि सुकुम्वासीको सङ्ख्या बढ्दै गएको छ । पहिले छ जनाको परिवारलाई खान लाउनको कुनै समस्या थिएन । अहिले अरूको खेतमा ज्याला मजदुरी गरेर परिवारको पेट पाल्ने गरिएको छ ।” स्थानीय किसानका अनुसार सानातिना नदी नियन्त्रणका योजना पारेर दुई/तीन लाख रुपियाँमा ठाउँठाउँमा तटबन्ध निर्माण गरी कमला नदीको कटानलाई नियन्त्रण गर्ने प्रयास नभएको त होइन तर न्यून बजेटका कारण उक्त प्रयास प्रभावकारी हुनसकेको छैन ।
दुधौली नगरपालिकाका कार्यवाहक प्रमुख चन्द्रकिशोर थारू कमला नदी नियन्त्रणको काम केही वर्षदेखि बागमती प्रदेश सरकारको साझेदारमा बर्सेनि छ करोड रुपियाँ हाराहारीमा भइरहेको बताउनुहुन्छ । ‘प्रदेशको समपूरक बजेट अन्तर्गत ६० र ४० को साझेदारीमा नदी नियन्त्रणको काम हुँदै आएको छ,” नदी नियन्त्रणका लागि सञ्चालन भएका सानातिना योजना खासै प्रभावकारी हुन नसकेको दुधौली नगरपालिका–१ का निवर्तमान वडाध्यक्ष गोविन्द पहाडीले बताउनुभयो ।
“एकातिर तटबन्ध बनायो, अर्कोतिर बाढीले भत्काउँछ,” उहाँले थप्नुभयो, “कमला नदी नियन्त्रणका लागि नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम सुरु गरेको छ ।” कमला नदी नियन्त्रण गर्न अर्बौं रुपियाँ बजेट भएको ठुलै परियोजना आवश्यक रहेको उहाँको भनाइ छ ।