• ५ असार २०८२, बिहिबार

सामूहिक बजारीकरण सुरु

blog

रोल्पा समाचारदाता

रोल्पा, असार ५ गते । रोल्पाको लुङ्ग्री गाउँपालिकामा साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत सामूहिक बजारीकरण सुरु गरिएको छ । 

२०७९ माघदेखि २९ महिनाका लागि सञ्चालनमा आएको यस परियोजनाले किसान र युवा उद्यमीलक्षित उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले सामूहिक बजारीकरण अभियानको सुरु गरेको हो ।

लुङ्ग्री गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सहिद परिवार समाज नेपालको सहजीकरणमा सञ्चालित परियोजनाले विभिन्न ताजा तरकारी सिमी, बोडी, करेला, साग, काँक्रो, मुला, टमाटरलगायतको बिक्री सुरु गरेको हो । 

सामूहिक परियोजना सञ्चालनमा आएपछि यस पालिका अन्तर्गत पर्ने पाङ, सिर्प, नम्जा, वडाचौर, गुम्चाल र हार्जङका किसान लाभान्वित हुने भएका छन् । 

कृषि उत्पादनलाई प्रवर्धन गरी किसानलाई प्रोत्साहित गर्न सके मात्र नेपालको अर्थतन्त्र बलियो हुने सहभागीले बताएका छन् । 

स्थानीय स्तरमै सङ्कलन केन्द्र स्थापना भएपछि कृषक खुसी भएका छन् । यसअघि तरकारी किन्न घन्टौँ लगाएर सुलिचौर बजार जाने स्थानीयले आफ्नै ठाउँको सङ्कलन केन्द्रमा तरकारी पाउने भएको स्थानीय खुमबहादुर सुनारले बताउनुभयो ।  हरेक मङ्गलबार लुङ्ग्री गाउँपालिकाको किलाचौरमा सङ्कलन केन्द्र सञ्चालन गर्ने कुरामा किसान र व्यवसायीबिच सहमति भएको छ । यसबाट स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने र आम्दानी बढाउने अपेक्षा गरिएको छ । 

लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले यस अभियानले लुङ्ग्री गाउँपालिकाका कृषक र युवा उद्यमशीलतालाई नयाँ उचाइमा पुर्‍याउने बताउनुभयो ।