गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ५ गते । महानगर यातायात प्रालिले आफ्नो नाम, रङ र डिजाइन नक्कल गरी अनधिकृत व्यक्ति तथा समूहले बस सञ्चालन गरिरहेको भन्दै आपत्ति जनाएको छ । प्रालिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी त्यस्ता नक्कली सवारीसाधन निर्बाध चल्दा आफ्नो व्यवसायलाई बाधा परिरहेको र नियन्त्रणका लागि सारोकारवालाले साथ नदिएको पनि आरोप लगाएको छ ।
मर्यादित र व्यवस्थित रूपमा सार्वजनिक यातायात सञ्चालन गर्ने भन्दै विसं २०७२ देखि महानगर यातायात प्रालिले काठमाडौँको चक्रपथमा एकै पटक ३९ वटा बसमार्फत सेवा सञ्चालन थालेको थियो । लगत्तै अन्य बस उस्तै स्वरूप र रङमा चल्न थालेका थिए ।
“हाम्रो नक्कल गरेर तथा मिल्दोजुल्दो बनाएर चलेका त्यस्ता बस नियन्त्रणमा लिएर कारबाही गर्न हामीले जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी सबैलाई हारगुहार गर्दै आएका छौँ,” महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले भन्नुभयो, “तर कतैबाट प्रभावकारी काम भएन ।”
उहाँले नक्कली बसका कारण आफ्नो व्यवसाय र साख दुवै गुम्दै गएको दुःखेसो गर्नुभयो । “ती बसमा यात्रुले महत्वपूर्ण सामान छुटाउँदा आफूलाई झमेला पर्छ, उनीहरूका कारण सृजित दुर्घटना, चोरी तथा विभिन्न दुव्र्यवहारका घटनामा पनि हामीले दुःख पाउने र बदनाम हुनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो ।
खतिवडाका अनुसार महानगर यातायात सञ्चालन गर्दा बसको रङ आकार प्रकृति सबै सम्बन्धित निकायमा दर्ता तथा पञ्जीकरण गराएर अनुमति लिइएको थियो तर पनि नक्कल गरेका बस अहिले पनि निर्बाध सञ्चालनमा छन् । उहाँका अनुसार करिब दुई सयको सङ्ख्यामा यस्ता नक्कल गरेका बस सञ्चालनमा छन् । महानगर यातायात प्रालिका भने ८९ वटा बस चक्रपथलगायत राजधानीका विभिन्न रुटमा सञ्चालनमा छन् ।
आफूहरू निकट भविष्यमै सेवा विस्तारको तयारीमा रहेको जानकारी उहाँले दिनुभयो । खतिवडाले असारभित्र १२ वटा ठुलो क्षमताका विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको पनि जानकारी दिनुभयो ।