कालीकोट समाचारदाता
कालीकोट, असार ४ गते । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. १, ८ र ९ जोड्ने रहगाढको पुल निर्माण भएको छ । लामो समयदेखि झोलुङ्गे पुल निर्माण नहुँदा सर्वसाधारण तथा पशुचौपायाको समेत आवागमन कठिन थियो । स्थानीयको दबाबपछि बल्ल पुल निर्माण भएको र अबको यात्रा सहज हुने आशा गरिएको छ ।
रहगाढमा रहेको झोलुङ्गे पुल पहिरोले भत्काएपछि त्यसयताको यात्रा निकै जोखिमपूर्ण थियो । गाउँपालिकाको वडा नं. १ र ८, ९ जोड्ने रहगाढ पुलमा आउजाउ गर्ने सेवाग्राही धेरै थिए । नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदीप बोहोराले बहुसङ्ख्यकले हिँड्ने पुल बल्ल निर्माण भएको बताउनुभयो । उहाँले गाउँपालिकाले आफ्नै लगानीमा पुल निर्माण गरेको जनाउनुभयो ।
भौगोलिक जोखिमलगायतका कारण देखाएर पुल निर्माण नगरेपछि गाउँपालिकाले आफैँ उपभोक्ता समितिमार्फत पुल निर्माण गरेको गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष बोहोराले जानकारी दिनुभयो । गाउँपालिकाले पुल निर्माणका लागि गत आर्थिक वर्ष ५० लाख रुपियाँ विनियोजन गरेको थियो । गत चैतमा ‘पुल नहुँदा नागरिक सास्तीमा’ भन्ने समाचार गोरखापत्रमा प्रकाशन भएपछि गाउँपालिकालाई दबाब परेकाले गाउँ सभामार्फत बजेट विनियोजन गरेको हो । अबको दुई/तीन दिनमा औपचारिक रूपमा उद्घाटन हुने गाउँपालिकाले जनाएको छ ।
पुल निर्माणका लागि चाहिने लट्ठा झोलुङ्गे पुल सेक्टर कार्यालय नेपालगन्जले दिएको थियो भने बाँकी गाउँपालिकाको बजेट खर्च भएको छ । पुल निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिए पनि खर्च ६५ लाख रुपियाँभन्दा माथि पुगेको प्रवक्ता बोहोराको भनाइ छ ।