• ४ असार २०८२, बुधबार

सदरमुकाममै खानेपानीको समस्या

blog

रलिङ समाचारदाता

रलिङ (हुम्ला), असार ४ गते । हुम्लाको सदरमुकाम सिमकोटमा दुई हप्तादेखि खानेपानीको समस्या चुलिँदै आएको छ । सदरमुकाम सिमकोटनजिकै रहेको हुमानेखोलाबाट ल्याएको पानी अभाव हुन थालेपछि खानेपानीका सेवाग्राही  खानेपानीबाट वञ्चित हुनु परेको हो ।

हुमानेखोलाको पानी सुक्दै गएपछि छाल्ताखोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहानमै पानी कम भएपछि यसको समस्या थपिँदै गएको स्थानीयको भनाइ छ । हुमानेखोलामा दुई हप्तायतादेखि पानी सुक्दै गएको छ । खोलामा थोरै आएको पानी पनि जमिनमुनि छिरेर जाने गरेको छ । हुमानेखोलाको पानी सुकेका कारण छाल्ता भन्ने स्थानमा आउने गरेको कमै पानी भए पनि पाइप जडान गरी ल्याउने गरिएको छ । 

सिमकोटमा ५२६ खानेपानीका ग्राहक रहेका छन् । उनीहरू सबैलाई बिहान बेलुकाको समयमा टोल टोल गरी पालो अनुसार पानी छोड्ने गरे पनि पर्याप्त हुन नसकेको स्थानीयको गुनासो छ । केही दिनयतादेखि जिल्ला अस्पतालमा पनि खानेपानीको समस्या भएको अस्पतालका सिनियर अनमी सरिता बोहोराले बताउनुभयो । अस्पताल जस्तो क्षेत्रमा पनि पानीको समेत समस्या हुँदै आएको अनमी 

बोहोराको भनाइ छ ।

सिमकोटमा रहेका खानेपानीका रिजर्भ ट्याङ्की यतिबेला खाली रहेका छन् । खानेपानी उपभोक्ता समितिले विगतदेखि नै सदरमुकामवासीलाई बिहान बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको छ । यतिबेला सदरमुकाम सिमकोटवासीले खानेपानी धारामा नआउँदा समस्या हुने गरेको गुनासो गर्ने गरेका छन् । सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रावासमा दुई महिनादेखि खानेपानी आउन बन्द भएको छात्रावासका वार्डेन कमला लामाले बताउनुभयो । 

बिहान बेलुका आउने पानी पछिल्लो समय बन्द हुँदा एक/दुईका घरमा आउने धारामा दुई÷तीन घण्टा लाइन बसेर पानी थाप्नु परेको उहाँको भनाइ छ । खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोललगायतका नागरिकले टाढा टाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । खाना खानका लागि खानेपानीको समस्या हुँदै आए पनि सरसफाइका लागि पनि थप समस्या हुँदै आएको सर्वसाधारणले गुनासो गरेका छन् ।

हुमानेखोलामा पानी सुक्दै गएका कारण सदरमुकामवासीलाई खानेपानीको समस्या हुन पुगेको खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले बताउनुभयो । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा यहाँका सर्वसाधारणलाई पालो अनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उहाँको भनाइ छ । सदरमुकामका खानेपानीका ग्राहकले हामीलाई पानी छोड्दैनन् भनी गुनासो गर्नुहुन्छ ।