• ४ असार २०८२, बुधबार

स्थानान्तरणको पर्खाइमा बोल्ढिक गाउँ

blog

स्थानान्रतणको परखाईमा रहेको हिमाली गाउँपालिका वडा नं –६ को बोल्ढिक गाउँ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 
बाजुरा, असार ४ गते ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६ को बोल्ढिक गाउँ स्थानान्तरणको पर्खाइमा छ । २०७९ सालमा अविरल वर्षातका कारण यसको वरिपरि तलमाथि पहिरो जान सुरु भएसँगै यो गाउँ  स्थानान्तरणको पर्खाइमा रहेको हो ।

२०७२ सालमा यसै गाउँको मुनी कर्णाली करिडोर सडक खन्दा गाउँ जोखिममा परेको थियो । त्यसैमा २०७९ सालमा अविरल वर्षाका कारण गाउँमा पहिरो जान सुुरु भएपछि अहिले बर्खाको समय थोरै पानी परेपनि पहिरो जाने गरेकाले गाउँमा बस्न समेत नहुने गरेको हिमाली गाउँपालिका–६ का स्थानीय मनलाल सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले बोल्ढिक गाउँ पूरै जोखिममा छ । यो गाउँलाई पहिला नै स्थानान्तरण गरिसक्नु पर्ने हो । तर पनि अहिले समम यो कतै स्थानान्तरण गर्न सकेको छैन । यहाँ थोरै पानी परे पहिरो बग्छ । त्यति बेला यहाँका स्थानीयलाई ज्यान जोगाउँन समेत गाह्रो हुन्छ ।”

अहिलेसम्म यहाँका स्थानीयलाई अन्य कतै सुरक्षित ठाउँमा बसोबासको व्यवस्था नगरिदिएकाले हामीहरु बाध्य भएर यसै जोखिम परेको गाउँमा बसोबास गर्दै आएको सार्कीले बताउनुभयो ।

बोढिल्क गाउँमा अहिले झण्डै दुई सय भन्दाबढी घरपरिवारको बसोबास गर्दछन् । यो बस्तीलाई धुलाचौरमा सार्ने गरी स्थानीय सरकारले धेरै पटक पहल गर्दै आएको हो । गत वर्षमा पनि यो बस्तीलाई सार्नका लागि स्थानीय सरकारले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्रचार गरेको थियो ।

हिमाली गाउँपालिकामा रहेका जोखिममा बस्तीलाई सुरक्षित ठाउँमा सार्ने गरी यहाँको जोखिमको बस्तीको तथ्याङ्क सङ्कलन गरी जिल्ला प्रशासन कार्यालय बाजुरामा पठाएको हो । तर उतादेखि अहिलेसम्म केही जानकारी नै नआएको हिमाली गाउँपालिकाले जनाएको छ ।

हिमाली गाउँपालिकाका पछिल्लो समय धेरै बस्ती जोखिमा छन् । केही बस्तीलाई सुरक्षित ठाउँमा सार्ने काम भए पनि यहाँका अन्य बस्ती सार्न भने कठिन भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँलेभन्नुभयो , “बस्ती सार्नका लागि स्थानीय सरकारसँग बजेट छैन । यसका लागि प्रदेश तथा सङ्घीय सरकारले गर्नुपर्ने हो । उतादेखि अहिलेसम्म केही खबर आएको छैन ।”

यहाँका बाढीपहिरो पीडितलाई स्थानीय सरकारले दस प्रदेश सरकारले बीस र सङ्घीय सकारले साठी प्रतिशत रकमले घरबासविहीन भएका परिवारलाई भने सुरक्षित स्थानमा बसोबास गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

बाजुराको नौ वटै स्थानीय तहका झण्डै १३५ भन्दा बढी गाउँ बस्ती जोखिममा परेका छन् । ती बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने आवश्यक छ ।

तर पनि ती गाउँ बस्ती अहिले सम्म स्थानान्तरण भएका छैन । यहाँका स्थानीय अहिले त्यसै जोखिम ठाउँमा बाध्यताले बसोबास गर्दै आएका छन् ।

हामीले यहाँका प्रत्येक स्थानीय तहलाई त्यसको तथ्याङ्क सङ्कलन गरी जिल्लामा पठाउनु भनेर पत्र पठाएका थियौ । स्थानीय तहले पनि उता देखि जोखिमा परेका बस्तीको तथ्याङ्क सङ्कलन गरी यता पठाएको थियो ।

हामीले यतादेखि त्यो डाटा सबै गृहमन्त्रालयमा पठाएका छौँ । उतादेखि अहिलेसम्म बस्ती सार्ने या नसार्ने भन्ने बारेमा केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।