• ४ असार २०८२, बुधबार

कालीगण्डकी आँखा उपचार केन्द्र स्थापना

blog

रमेश विश्वकर्मा
गुल्मी, असार ४ गते ।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा ‘कालीगण्डकी आँखा उपचार केन्द्र’ स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीले सेभा नेपालको आर्थिक सहयोग र कालीगण्डकी गाउँपालिकाको सहकार्यमा कालीगण्डकी गाउँपालिका वडा नम्बर – ३ स्थित पूर्तिघाट बजारमा ‘कालीगण्डकी आँखा उपचार केन्द्र’ स्थापना गरिएको हो ।

सो केन्द्र संघको छैठौं शाखाको रुपमा स्थापना गरिएको बताइएको छ । केन्द्रको उद्घाटन कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाको अध्यक्षता एवम् नेपाल नेत्र ज्योति संघ केन्द्रीय महासचिव भरतबहादुर चन्दको प्रमुख आतिथ्यतामा गरिएको हो । त्यस अवसरमा केन्द्रीय महासचिव चन्दले पालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि कालीगण्डकी जस्ता ग्रामीण भेगमा यस्ता आँखा उपचार केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले गाउँगाउँमा सहज उपचारको सेवा पुर्‍याउन सदैव लागेको बताउनुभयो ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले आफ्नो ठाउँमा आँखा उपचार केन्द्र स्थापना हुनुले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले पालिकाले आफ्नै सम्पत्ति सम्झेर सहयोग र सहकार्य गर्ने बताउनुभयो । उद्घाटन समारोहको अवसरमा ३५ जना बिरामीको निःशुल्क आँखाको परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीका सचिव पदमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।