• ७ जेठ २०८१, सोमबार

जुम्लामा नमुना भेडा स्रोत केन्द्र स्थापना

blog

नेत्र शाही 

जुम्ला,असार  १ गते । जुम्लामा समूहको अगुवाइमा सञ्चालित भेडाबाख्रा केन्द्र स्थापना भएको छ । हिमा गाउँपालिका–२, ओदीमा कर्णाली प्रदेश सरकारको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडास्रोत केन्द्र स्थापना गरिएएको हो ।  जिल्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा नमुना भेडा स्रोत केन्द्र सुरुवात गरिएको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्ला प्रमुख गोविन्दबहादुर महतका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने कर्णाली सरकारको उद्देश्यअनुसार जुम्लामा भेडापालनलाई स्तरवृद्धि उत्तम रहेकाले यसको स्थापना गरिएको छ । भेडाका लागि चरन क्षेत्रदेखि सबै प्रकारले ठीक भएको स्थान लामा विष्णु भेडापालक समूह ओदीले नमुना भेडा स्रोत केन्द्र स्थापना  गरिएको छ । 

तीन वर्षअघि पशुअस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदी स्थित लामा विष्णु भेडापालक समूह कार्यक्रम छनोट गरी अगाडि बढेको छ ।

लामा विष्णु भेडापालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा दुई सय भेडा रहेका छन् । उहाँका अनुसार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुईवटा भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र सात सय मिटर घेरबार कार्य सम्पन्न भइसकेको छ । समुन्द्र सतहदेखि चार हजार मिटर उचाइमा रहेको उक्त पाटनमा जिल्लाको भेडाबाख्रा स्रोत केन्द्र स्थापना गर्ने निर्णय प्रदेश सरकारको उत्कृष्ट परियोजनामध्ये एक पर्दछ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डीपीआर रु आठ करोड र अन्य चालू खर्च गरी करिब ११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले दुई करोड ८० लाख रुपियाँ निकासा भएको छ । आर्थिक वर्ष २०७६।०७७ मा रु एक करोड ०७७।०७८ मा ९० लाख र ०७८।०७९ मा रु ९० लाख प्रदेश सरकारबाट बजेट आएको हो । 

 समूहलाई प्राप्त भएको बजेटमध्येको खर्च भएअनुसार समूहले गुणस्तर रूपमा काम गरेको कार्यालयको दाबी छ । कार्यालयका अनुसार पहिलो वर्षमा भने रु ५५ लाख कोरोनाका कारण समूहले काम गर्न नसकेर फ्रिज भएको छ । 

इन्जिनियर धर्मराज शाहीका अनुसार डीपीआरमा तीनवटा ठूला आधुनिक भेडा बस्ने भवन, एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । सात सय मिटर वरिवरि जालीसहितको घेरबार सम्पन्न भइसकेको छ । उहाँका अनुसार समूहले पहिलो वर्ष ७० भेडा खरिद गरेको थियो । अहिले बढेर दुई सय पुगेका छन् । केही भेडा बिक्रीसमेत गरिएको छ । 

उहाँका अनुसार अन्य दुईवटा करिब पाँच सय भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेका छन् । कम प्रतिशत बजेट आए पनि भएका कामहरू गुणस्तर भएको र बजेट सबै विनियोजन हुने हो भने संरचना र अन्य कामहरू चाँडै तथा गुणस्तरीय हुनेछन् ।  

समूहका सल्लाहकार प्रेम रोकायाले ३० जनाको समूहले स्रोत केन्द्रमा काम गरिरहेको र डीपीआरअनुसारको बजेट आउने हो भने कर्णाली सरकारले लक्ष्य लिएअनुसारको भेडास्रोत केन्द्र स्थापना गर्न दुई मत नभएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन आर्थिक वर्षमा आउनुपर्ने बजेटभन्दा कम आएको छ ।    

उहाँका अनुसार हिमा गाउँपालिकाले कार्यक्रम उत्कृष्ट भएको भन्दै रु १० लाख रुपियाँ विनियोजन गरेको छ । सो रकमको भेडा खरिद गर्ने योजना रहेको छ । अबको केही वर्षमा करिब पाँच सय भेडा स्रोत केन्द्रमा हुनेछन् । वार्षिक पाँचदेखि १० लाखसम्म आम्दानी हुने र जिल्लाबाहिर समेत निर्यात हुने, दर्जन व्यक्तिको रोजगारी सिर्जना हुनेमा जोड दिनुभयो ।  

जिल्लाकै उत्कृष्ट परियोजना भएकाले त्यहाँ लगानी गर्न प्रतिफल हुने सरोकारवालाको भनाइ छ । भेडा स्रोत केन्द्रमा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्ला, हिमा गाउँपालिका–२ वडा कार्यालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय र सरोकारवाला निकायले पछिल्लो समय अनुगमन गरेका छन् । उत्कृष्ट काममा लगानी गर्न सबै लाग्नुपर्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख धनप्रसाद शर्माले जानकारी दिनुभयो ।