गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता भएको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको महासङ्घ सचिवालयले जनाएको छ ।
सो अवसरमा अध्यक्ष ढकालले महासङ्घ मर्यादित श्रम र समावेशी आर्थिक वृद्धिका लक्ष्यमा प्रतिबद्ध रहेर काम गर्दै आएको बताउँदै रोजगारदातालक्षित सहयोग विस्तारमा जोड दिनुभयो । उहाँले आइएलओको निरन्तर सहयोगबाट नेपालका श्रमिक तथा उद्यम दुवैले ठोस प्रगति गर्न सक्ने भन्दै आगामी दिनमा थप सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
“नेपाल सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्नति हुँदा हाम्रो निर्यात क्षमतामा र त्यससँग जोडिएका रोजगारीमा असर पर्न सक्छ । त्यसैले यो अवस्थामा हाम्रो लागि सहयोगको खाँचो छ,” उहाँले भन्नुभयो ।
सो अवसरमा आइएलओका महानिर्देशक होङ्बोले महासङ्घसँगको आपसी सहयोग र सहकार्यका विषयमा आफू सकारात्मक रहेको धारणा राख्नुभएको जनाइएको छ ।