गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २९ गते । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले छिट्टै नै सदनको अवरोध हट्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा जेठ २६ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले यो विश्वास व्यक्त गर्नुभएको हो ।
सदनको अवरोध हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबिच लामै छलफल चलिरहेको जानकारी गराउँदै उहाँले आज वा भोलिसम्म सदन खुलाउने विषयमा कुरा मिल्ने बताउनुभयो । संसद् अवरुद्ध भएको धेरै दिन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सम्भवतः आज या भोलि कुरा मिल्छ भन्ने कुरा यहाँ जानकारी गराउन चाहन्छु ।”
प्रतिपक्षले उठाएको गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग पूरा हुन नसक्ने र गर्नु नपर्नेमा सरकार अडिग रहेको पनि मन्त्री गुरुङले जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालय अन्तर्गतको एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको हो । एक कर्मचारीमाथि छानबिन सुरु हुनेबित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो ? त्यस कारण राजीनामा आउँदैन गृहमन्त्रीको । अहिले जसरी संसद् अवरुद्ध भइरहेको छ, गृहमन्त्रीले राजीनामा दिने कुरा ठिक पनि हुँदैन ।”
गृहमन्त्रीले सदनमा उठेका प्रश्नको विषयमा आफ्नो र सरकारको धारणा राख्ने र प्रतिपक्षीहरूले सदन खोलेर सहयोग गर्ने र बजेटसम्बन्धी छलफलको प्रक्रियालाई अगाडि बढाउने भन्ने सरकारको चाहना रहेको मन्त्री गुरुङले स्पष्ट पार्नुभयो । सानोतिनो विषयलाई माथि उठाएर अप्ठ्यारो पार्ने कुराले राजनीति अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो ।
एमालेको झोलामा राष्ट्रवाद
सञ्चारकर्मीको अर्को जिज्ञासामा नेकपा (एमाले) का उपमहासचिवसमेत रहनुभएका मन्त्री गुरुङले एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको बताउनुभयो । एमालेले जनताका माग र मुद्दाको झोला बोकेकै कारण मुलुक अहिलेसम्मको अवस्थामा आउन सकेको उल्लेख गर्दै उहाँले पार्टीको नीति, सिद्धान्त र झन्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरवबोध गर्नुपर्ने जिकिरसमेत गर्नुभयो ।
एमालेको नीति र सिद्धान्त राष्ट्रवाद, प्रजातन्त्र र सामाजिक रूपान्तरणमा आधारित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर पार्टी अगाडि बढिरहेको जिकिरसमेत गर्नुभयो । उहाँले एमालेले बहुदलीय जनवाद र लोकतन्त्रलाई आफ्नो सिद्धान्त मानेर अगाडि बढिरहेको बताउनुभयो ।
मन्त्रीपरिषद् बैठकका निर्णय
सो अवसरमा मन्त्री गुरुङले मन्त्रीपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । त्यसै गरी नेपाल गुणस्तर (प्रमाण चिह्न) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले
बताउनुभयो । त्यसै गरी निर्माण व्यवसायसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाली सेनाका एक जना महासेनानीको सरुवा गर्ने, एक जना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चार जना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एक जना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले कैलालीको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शøयामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । आगामी असार १० देखि १२ सम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैङ्कको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ । त्यसै गरी आगामी असार २ देखि ६ गतेसम्म ल्हासामा आयोजना हुने नेपाल–चीन सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औँ बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
शान्तिनगर गाउँपालिका दाङको केन्द्र वडा नम्बर ४ चिराघाटबाट परिवर्तन गरी वडा नम्बर ४ जुम्लेकुला कायम गर्ने र महालक्ष्मी नगरपालिका ललितपुरको केन्द्र वडा नम्बर ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नम्बर ८, लुभु देवीस्थान कायम गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।