• ३० जेठ २०८२, शुक्रबार

सङ्खुवासभामा तरकारी तथा फलफूल पसल अनुगमन

blog

सङ्खुवासभा,  जेठ २८ गते । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तरकारी तथा फलफूल पसल अनुगमन गरेको छ । खाँदबारी नगरपालिकाको नेतृत्व तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको प्राविधिक सहकार्यमा तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो । 

जिल्लाको सरोकारवाला निकायको उपस्थिति एवं खाँदबारी नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र उद्योग वाणिज्य सङ्घसहितको टोलीले सदरमुकाम खाँदबारीमा विभिन्न तरकारी तथा फलफूल पसलको अनुगमन गरेको हो । 

जनगुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको प्राविधिक सहकार्यमा खाँदबारीको बुधबारे हटियाका विभिन्न तरकारी तथा फलफूल पसलको अनुगमन गरिएको खाँदबारी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पदम बजगाईँले बताउनुभयो । संयुक्त अनुगमन टोलीले खाँदबारी हाट बजारका विभिन्न तरकारी तथा फलफूलका नमूना सङ्कलन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले बताउनुभयो । 

सिमी, बोडी, लौका, रामतोरिया, गोलभेडा ,काँक्रा, ब्याज, काउली, करेला, अङ्गुर आँप, लिचीसहित १३ प्रकारका नमूना सङ्कलन गरेर विराटनगर पठाइएको खाद्य निरीक्षक कोइरालाले बताउनुभयो । अनुगमन टोलीले खाजाघर चटपटे पसल अनुगमन गर्दा कृत्रिम खाद्य रङ्गबाट बनाएका र मसी प्रयोग तथा पत्रपत्रिकामा प्याकिङ गरिएका जेरी समोसा, आलुचप जफत गरी नष्ट गरेको छ । अनुगमन टोलीले ती पसललाई खाद्य स्वच्छता कायम गर्न र गल्ती नदोहोर्‍याउन सचेत गराएको छ ।