टोपलाल अर्याल
रेसुङ्गा, जेठ २८ गते । गुल्मीको छल्दी खोलामा निर्माण गरिएको झोलुङ्गे पुलले विचित्र गुफालाई राजमार्गबाट नजिक बनाएको छ । धुर्कोट गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको अमरपुर राङ्गदललाई जोड्न ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।
यो पुलको नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले उद्घाटन गर्नुभयो । पुलको उद्घाटन गर्दै विष्टले पहाडमा गाउँ–गाउँ पनि भुगोलका कारण टाढा हुने भएकाले झोलुङ्गे पुलमो महत्त्व अझै रहेको बताउनुभयो ।
क्षेत्र नं. २ मा २०७४ सालमा २७ झोलुङ्गे पुलका योजना समावेश गरेकाले अधिकांश निर्माण सम्पन्न भएका विष्टले बताउनुभयो । उहाँले सडक, खानेपानी, पुल, सिँचाइ लगायतका पुर्वाधारमा थुप्रै बजेट विनियोजन गरेकाले क्रमिक रूपमा समृद्धिको यात्रा सुरु भएको बताउनुभयो ।
धुर्कोट गाउँपालिका–५ को वस्तुमा प्राकृतिक रूपमै विचित्र रहेको गुफा छ । यो पुलले मदनभण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारीबाट नजिक बनाएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सजिलो भएको छ । राजमार्गबाट ५ मिनेटमा पुल तरेपछि १० मिनेटमा विचित्र गुफा पुग्न सकिने भएको छ । पुल नहुँदा खोला तर्ने बाध्यतामा रहेका स्थानीय र हिमालय मावि पुग्ने विद्यार्थीलाई समेत राहत महसुस भएको स्थानीय बोमलाल भण्डारीले बताउनुभयो ।
छल्दी खोला झोलुङ्गे पुल लामो भएकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । लामो तथा अग्लो स्थानमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण दैनिक घुम्न, हावा खान र फोटो खिचाउन आउनेहरूको घुइँचो लाग्ने गरेको छ ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले तिनै तहका सरकारको समन्वयमा विकासका काम अगाडि बढिरहेको बताउनुभयो । उहाँले बाह्य पर्यटकको समेत घुइँचो हुने विचित्र गुफामा अझै सडकको आवश्यकता रहेको बताउनुभयो । पोख्रेलका अनुसार सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत झोलुङ्गे पुल एक करोड ८४ लाखको लागतमा निलगिरि निर्माण सेवा प्रालिले निर्माण गरेको हो । पुलको ७९९ मान्छे अटाउने भारबहन क्षमता रहेको छ ।
धुर्कोट गाउँपालिका–५ वस्तुको यो गुफा पत्ता लागेका तीन दशक बढि भए । तर संरक्षण र उचित विकास समयमै हुन सकेन । शान्ति प्रक्रिया पछि गुफा संरक्षणका केहि काम भएका छन् । सदरमुकाम तम्घासबाट ४५ मिनेटमा विचित्र गुफा पुगिन्छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडकखण्डबाट गुफा पुग्न १५ मिनेट लाग्छ । अझै पनि गुफाका पुग्ने सडक राम्रो बन्न सकेको छैन भने व्यवस्थित पार्किङ्ग स्थल छैन ।
अहिलेसम्म गुफाको खास अनुसन्धान पनि भएको छैन् । प्राकृति रूपमा बनेको धार्मिक कला आकृति सहितको गुफा नेपालकै ठुलो हुन सक्ने स्थानीयवासी दाबी गर्छन । गुफाका धेरै विशेषता लुकेरै बसेका छन् । अहिलेसम्म दुई तलासम्म पुग्ने र अवलोकन गरिएका छन् । तर अध्ययन गर्न सके गुफाका अरू तलाहरू प्नि अझै आर्कषक हुन सक्ने धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशब भण्डारीले बताउनुभयो ।
गुफाभित्र फेला परेका संरचनाहरूलाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटो लगायतका नामाकरण गरेका छन् ।