इनरुवा (सुनसरी), जेठ २८ गते । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ ।
आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मङ्गलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा आज गर्मी बिदा दिने जनाएको हो । अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न थालेकाले बिदा दिएको उहाँले बताउनुभयो । स्थानीय तहको यो निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकलाई केही राहत दिने विश्वास गरिएको छ । रासस