• २९ जेठ २०८२, बिहिबार

तितौरेमा एक घर-एक धारा अभियान

blog

बागलुङ नगरपालिका–७ स्थित तितौरेमा ‘एक घर एक धारा’ कार्यक्रम अन्र्तगत यहाँको शान्ताकुमारी कार्कीको घरमा बनेको खानेपानीको धारा । तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), जेठ २८ गते । वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका तितौरेमा घर घरमै खानेपानीको धारा पुगेको छ । बागलुङ नगरपालिका–७ स्थित तितौरेमा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत यहाँको जनकुमारी कार्की सहित २१२ घरमा खानेपानीको धारा निर्माण भएको थियो । कार्कीले घरमै धारा आउँदा खुसी लागेको बताउनुहुन्छ ।  

“राति चार बजै घरदेखि आधा घण्टा टाढा पुगेर कुवाँको खानेपानी ल्याएको हिजो जस्तै लाग्छ, त्यसपछि टोलमै धारो आएको थियो, उक्त धारोमा समेत मानिसको भिड लाग्दथ्यो, मर्ने बेलामा घरको आँगनमै पानीको धारो खस्यो, अहिले त खानेपानीका कारण बैकुण्ठ भएको छ, स्वर्ग भनेको यही होला,” कार्कीले भन्नुभयो, “कुँवाको पानी भर्ने म, अहिले घरमै निजी धारो हुँदा खुसीको सीमा छैन, पहिलेको खानेपानीको जोहोका कारण घरको अन्य काम नै प्रभावित हुने गरेको थियो, खानेपानीको कारण समयमा खाना समेत नपाइने हुन्थ्यो ।”

जनकुमारी कार्की, शान्ता कार्की र श्यामबहादुर कार्कीसहित तितौरेका २१२ घरमा हालै खानेपानीको धारा पुगेको छ । उहाँहरूले घरमा रङरोगन सहितको चिटिक्क परेको धारामा पानी खस्दा विकासको अनुभूति भएको बताउनुभएकाे छ ।

कुलबागा तितौरे खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर कार्कीका अनुसार बहुवर्षे खानेपानी योजना अन्तर्गत तीन वर्षमै खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो । उहाँले स्थानीयको मिहिनेत र कार्यालयको रकमले खानेपानी ल्याउन सहज भएको बताउनुहुन्छ ।

“गाउँमा खानेपानीको समस्या थियो, २०३७ सालअघि कुलोमा पानी ल्याएर खाने गर्दथ्यौँ, २०३७ सालमा लुर्थन संस्थाले १९ धारा निर्माण गरेको थियो, पछि विबाइसीले मर्मत गरेर १४ वर्ष टिक्यो पछिल्लो समय खानेपानीको समस्या थियो,” कार्कीले भन्नुभयो, “खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तीन वर्ष लगाएर घर–घरमा खानेपानीको धारा पुर्‍याउन सफल भएको छ, स्थानीयले वितरण लाइन खन्नमा श्रमदान समेत गरेका थिए ।” 

कुलबाग, धुवाखोला र तारेभिरको मुहानबाट पाँच हजार ५०० मिटर मुख्य पाइपलाइन, चार किमी वितरण पाइपलाइन, सात वटा सङ्कलन ट्याङ्की, दुई वितरण च्याम्बर र २१२ घरमा धारा निर्माण गरिएको कार्कीको भनाइ छ ।  

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तितौरे–माझकोट बाटुले खानेपानी योजना अन्तर्गत पहिलो चरणमा तितौरे गाउँभरी एक घर एक धारा पुर्‍याएको हो । 

क्रमश माझकोट र बाटुलेमा एक घर एक धाराको कार्य अन्तिम चरणमा सेमत पुर्‍याएको कार्यालयका सब इन्जिनियर सुदीप आचार्यले जानकारी दिनुभयो । उहाँले २१२ घरमा खानेपानीको धारा पुर्‍याउन एक करोड ३० लाख खर्च भएको बताउनुभयो । स्थानीयले वितरण लाइन खन्नमा श्रमदान गरेका थिए ।