• २९ जेठ २०८२, बिहिबार

गर्मी बढेपछि नगरका विद्यालयमा पठनपाठन बन्द

blog

गर्मी अध्याधिक बढेपछि पढाई बन्द गरिएको कमलामाईको एक विद्यालय । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 
सिन्धुलीमाढी, जेठ २८ गते ।
विगत केही दिनदेखि बढेको गर्मीका कारण सिन्धुलीको कमलामाई नगरपालिकाले बुधबारदेखि सामुदायिक तथा नीजि विद्यालयको पठनपाठन बन्द गराइएको छ ।

गर्मी बढेर बालबालिकालाई पठनपाठनमा समस्या भई जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले वर्षे बिदाबाट कट्टी हुने गरी बुधबारदेखि तीन दिनका लागि सामुदायिक तथा नीजि विद्यालयलाई सार्वजनिक बिदा दिएर पठनपाठन बन्द गराएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज बरालले मौसम अनुकूल हुने वित्तिकै पूर्ववत् रूपमा विद्यालयको पठनपाठन सञ्चालन हुने जानकारी दिनुभयो । नगरपालिकाको उक्त निर्णयबाट नगर क्षेत्रका ७२ वटा सामुदायिक विद्यालय र २४ वटा नीजि विद्यालयको पढाई बन्द भएको उहाँले बताउनुभयो ।

बढ्दै गएको अध्याधिक गर्मीका कारण जिल्लाको कमलाखुँज, मरिण र सुनकोसी गढ्तीर क्षेत्रका जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।