घोराही समाचारदाता
घोराही, जेठ २८ गते । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम ल्याएको छ । नगरको १७ औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले कृषि, उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता राख्दै सार्वजनिक गर्नुभएको हो ।
नगर अधिवेशनमा नगरप्रमुख चौधरीले पुँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना, मध्यकालीन खर्च संरचना र आयोजना बैङ्कलाई आधार मारेर वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने बताउनुभयो । उपमहानगरपालिकाबाट पहिचान गरिएका स्थानीय गौरवका आयोजनामा प्राथमिकताका साथ लगानी गरिने र अधुरा तथा क्रमागत आयोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने उहाँको भनाइ छ ।
‘नागरिकसँगै विकास’ भन्ने अवधारणा अनुरूप स्रोत सुनिश्चिततासहित नगर–नागरिक सम्पूरक आयोजना ५०/५०, ३५/६५ र २०/८० प्रतिशतका आधारमा प्राथमिकताका साथ सञ्चालन गरिने, साना तथा कम लागतका टुक्रे आयोजनालाई कम गर्दै परिणाममुखी, बहुसङ्ख्यक जनतामा प्रत्यक्ष लाभ हुने आयोजना तयार गरिने, आयोजनाको गुणस्तर परीक्षण गर्न उपमहानगरपालिकाले आफ्नै परीक्षण प्रयोगशाला स्थापनाका लागि आवश्यक पूर्वाधारको तयारीको सुरुवात गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
बेलदमार–चाक्लीघाट हुँदै सुर्केडाँगी र नैनवार–रज्जे–मन्नामे हुँदै रिहार जोड्ने सडकलाई घोराही–लमही सडकखण्डको वैकल्पिक सडकका रूपमा विकास गरिने, सङ्घ तथा प्रदेश सरकारको सहकार्य र समन्वयमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम पूर्वाधार निर्माणमा जोड दिइने, घोराही क्षेत्रभित्र उपलब्ध कृषियोग्य भूमिमा नियमित तथा भरपर्दो सिँचाइ सुविधा सुनिश्चित गर्न सम्भावित खोला, सिमसार तथा अन्य जलस्रोतको संरक्षण र व्यवस्थापन गरिने छ ।
घोराहीले उत्पादनका आधारमा विभिन्न वडालाई बाली विशेषको पकेट क्षेत्र पहिचान तथा विस्तार गरी विभिन्न खाद्यान्न बाली, नगदे बाली तथा फलफूल खेतीका रूपमा विकास एवं विस्तार गरिने नीति लिइएको छ । बाँझो तथा प्रयोगविहीन जमिनलाई कृषि उपयोगमा ल्याई उत्पादनशील बनाउने उद्देश्यले ‘भूमी बैङ्क’ सम्बन्धी कानुन बनाई कार्यान्वयनमा ल्याइने, जैविक विविधता संरक्षण तथा परम्परागत कृषि ज्ञानको प्रवर्धनका लागि परम्परागत तथा रैथाने बाली प्रवर्धन कार्यक्रम सञ्चालन गरिने र प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा जोड दिइने भएको छ ।
‘स्वस्थ पशु स्वच्छ उत्पादन’ कार्यक्रम अन्तर्गत नियमित पशु उपचार, आकस्मिक पशु स्वास्थ्य शिविर र ‘डोर टु डोर’ जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । सामुदायिक विद्यालयलाई न्यूनतम पूर्वाधारयुक्त बनाउँदै लगिने र सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट सिकाइ सहजीकरण गरिरहेको अभ्यासलाई प्रोत्साहन गरिने नगरप्रमुख चौधरीले नगर सभामा जानकारी गराउनुभएको थियो ।
थारू भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गरी लागु गरिने र मगर भाषाको पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाइ सञ्चालन गरिने, अस्थायी, करार शिक्षक नियुक्तिका लागि शिक्षक बैङ्क तयार गरिने उल्लेख छ । उहाँले राष्ट्रिय मान्यताप्राप्त खेलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण र सुदृढीकरणमा विशेष प्राथमिकता दिइने, घोराही–१८ स्थित नवलपुर खेल मैदानलाई ‘मिनी रङ्गशाला’ का रूपमा विकास गरिने बताउनुभयो ।
बालविवाह न्यूनीकरण गर्न ‘विवाहबारी बिस वर्षपारि’ भन्ने अभियानलाई निरन्तरता दिइने, अनाथ, जोखिममा रहेका तथा सडक बालबालिकाको पुनस्र्थापनाका लागि विशेष संरक्षणको नीति अवलम्बन गरिने, परम्परागत, लोपोन्मुख सिप, कलाको संरक्षण तथा प्रवर्धन गर्दै त्यसलाई रोजगारी र आयआर्जनसँग जोडिने नीति लिइएको छ ।