राजु लामिछाने
रुकुमपश्चिम, जेठ २८ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल गर्न बारम्बार ताकेता हुने गरेको छ । यो सहकारीमा आठबिसकोट नगरपालिकाले एक करोड ७२ लाख पाँच हजार रुपियाँ कर्जा उपलब्ध गराएको छ ।
नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक धनकुमारी शाहीका अनुसार नगरपालिकाबाट शैक्षिक कर्जाका लागि लिएको एक करोड रुपियाँ, घरेलु तथा साना उद्योगका लागि दिएको ३८ लाख ४० हजार र विपन्न नागरिकको शेयर लगानीका लागि लिएको ३३ लाख ६५ हजार रुपियाँ सहकारीमा डुबेको छ ।
नगरपालिकाले सहकारीमा ६७३ जना विपन्न नागरिकको शेयर खरिदका लागि उक्त रकम दिएको थियो । सहकारीले एक व्यक्तिलाई पाँच हजारका दरले ५० कित्ता शेयर दिनेगरी उक्त कर्जा लिएको बुझिएको छ ।
स्थानीय सरकारबाट लिएको कर्जा फिर्ता गर्न नसकेपछि बन्द अवस्थामा रहेको सहकारीविरुद्ध उजुरी परेपछि नगरपालिकाले छानबिन गरेको थियो । वडा नम्बर १ का वडा अध्यक्ष देवबहादुर घर्तीको संयोजकत्वमा गठित छानबिन समितिले नगरपालिकाबाट लिएको कर्जा र केहि बचतकर्ताहरूको समेत रकम फिर्ता नभएको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । नगर कार्यपालिका बैठकले ‘डुबेको’ रकम असुलीका लागि न्यायिक समिति मार्फत पत्राचार गर्ने निर्णय गरेको थियो ।
न्यायिक समितिले एक महिनाभित्र उक्त कर्जा बुझाउन गत माघ २३ गते पत्राचार गरेको थियो । तर सहकारीले हालसम्म कर्जा फिर्ता नगरेपछि साँवा, ब्याज र जरिवानासहितको रकम सात दिन भित्र बुझाउन न्यायिक समितिले शुक्रबार पुनः पत्राचार गरेको उपप्रमुख शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब रकम फिर्ता नगरेमा कानुनी कारबाहीका लागि अगाडि बढाइने छ । यस अघि सहकारीले समेत कर्जा असुलीका लागि ताकेता गर्दा पनि अटेरी गरेको जनाएको थियो । यो सहकारीमा सबैभन्दा बढी दुई युवालाई पाइलट पढ्नका लागि दिएको एक करोड, कर्णाली वेभरेज सञ्चालनका लागि दिएको २६ लाख कर्जा फिर्ता हुन सकेको छैन ।
आठबिसकोट नगरपालिकाको सहकारी ऐन, २०७४ बमोजिम दर्ता नम्बर ४३ मा २०७४ चैत १८ गते यो सहकारी दर्ता भएको थियो । सुरुमा १०१ जना मात्र सेयर सदस्य रहेको यस सहकारीमा हाल ९५६ जना सेयर सदस्य रहेका छन् ।