रुकुमपूर्व समाचारदाता
रुकुमपूर्व, जेठ २८ गते । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोलामा यात्रा गर्न उपयुक्त पदमार्ग नहुँदा जोखिम मोलेरै आउजाउ गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । गत वर्षको बर्खामा देउखोलास्थित भालुखाप्चेमा पहिरोले मुख्य पदमार्ग पूर्ण रूपले अवरुद्ध बनाएको छ ।
उक्त पदमार्ग पहिरोले अवरुद्ध बनाएपछि स्थानीय सरकारको पहलमा नजिकैको सानोभेरी नदीमा अस्थायी रूपमा काठेपुल निर्माण गरिएको छ तर पुनः बर्र्खायाम नजिकिँदै गर्दा नदीमा पानीको मात्रा बढेसँगै काठेपुल नदीको जोखिममा परेको छ । जसका कारण काठेपुलमा आउजाउ गर्दा स्थानीयलाई जोखिम बढेको हो ।
सिस्ने गाउँपालिका–२ का सुरेश रामजालीले नदीको बहाब तीव्र हुँदा काठेपुल पार गर्न अत्यन्तै कठिनाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वृद्धवृद्धा, महिला र बालबालिकालाई आउजाउमा साह्रै जोखिमपूर्ण अवस्थामा छ ।” स्थानीय धनबहादुर कामीले बाटोको अवस्था सुधार गर्न स्थानीय सरकारले छिटो पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थायी पुल निर्माण गरियो भने आउजाउमा सहज हुने थियो तर पुल निर्माण र सडक निर्माण कार्यमा सरकारको ध्यान कहिले पुग्ने होला ? अहिलेसम्म पनि न पक्की पुल छ न सडक ।” अब बर्खायाममा उक्त अस्थायी काठेपुल पनि नदीले बगाएमा भिरमा डोरीको सहारामा आउजाउ गर्नुपर्ने बाध्यता आउने कामीको भनाइ छ ।
यस विषयमा वडामा ध्यानाकर्षण भइसकेको जानकारी दिनुहुँदै सिस्ने गाउँपालिका–२ वडा कार्यालयका प्रशासन सहायक खडक केसीले वडाबाट सक्दो पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार आगामी वर्षभित्र देउखोलाको सडकखण्ड नयाँगाडसम्म विस्तार गर्ने तयारी भइरहेको छ ।
यसैबिच वडाध्यक्ष कृष्णबहादुर खड्काले गत वर्षको बर्खामा बाटो भत्किएपछि पालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा अस्थायी काठेपुल निर्माण गरिएको जानकारी दिनुभयो । अहिलेको अवस्था अत्यन्तै जोखिमपूर्ण भएको भन्दै अध्यक्ष खड्काले वैकल्पिक सुरक्षित मार्गको खोजी भइरहेको बताउनुभयो । उहाँले यही वर्षभित्र सानीभेरी नदीमा पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बताउनुभयो ।
उहाँले देउखोला–नयाँगाड सडकखण्ड विस्तार गर्ने काम पनि भइरहेको बताउनुभयो । देउखोलास्थित भालुखाप्चेमा सहज पदमार्ग र सडक नहुँदा सिस्ने गाउँपालिका–१ र २ सँगै पुथाउत्तरगङ्गा गाउँपालिका–७, ८ र १४ का स्थानीयले सास्ती खेपिराखेका छन् ।