• २९ जेठ २०८२, बिहिबार

एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न

blog

नेपाली सेना “अभ्यास मनसुन–५” नामक दुई दिने एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यासमा बोल्नुुहँदै । तस्बिर : सचिन पोख्रेल

सचिन पोख्रेल
इटहरी, जेठ २८ गते ।
सुनसरीको रामधुनी नगरपालिकाको आयोजना तथा नेपाली सेनाको भगवतीदल गणको समन्वयमा “अभ्यास मनसुन–५” नामक दुई दिने एकीकृत सामुदायिक विपद् प्रतिकार्य अभ्यास सम्पन्न गरिएको छ ।

कार्यक्रमअन्तर्गत पहिलो दिन इटहरी उपमहानगरपालिका–१ मा भएको टेबल टप अभ्यासको क्रममा विपद् हुँदा उद्धार टोलीलाई छिटो र प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक पर्ने छोटो र वैकल्पिक मार्गको पहिचान, उपलब्ध उद्धार सामग्रीहरूको उपयोग, हेलिकोप्टर ल्यान्डिङ गर्न मिल्ने स्थानहरूको छनोट लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले विपद् व्यवस्थापनका क्रममा सबै संयन्त्र एकजुट भएर लागेमा उद्धार कार्य प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । इटहरी उपमहानगरपालिकाका कार्यवाहक प्रमुख संगिताकुमारी चौधरीले नेपाली सेनाले विगतमा समेत उल्लेखनीय कार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा आइपर्नसक्ने विपद् र जोखिमको नियन्त्रण र न्यूनीकरणका लागि थप सशक्त रूपमा क्रियाशील रहनुपर्ने बताउनुभयो ।

यस्तै, रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीले यस्ता अभ्यासहरूले उद्धार क्षमतामा थप ऊर्जा र आत्मविश्वास थप्ने भएकाले नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

भगवतीदल गणका गणपति प्रमुख सेनानी राजुन भुजूको नेतृत्वमा सञ्चालित जिल्ला स्तरीय सो अभ्यासमा जिल्लाका १२ वटै पालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रतिनिधिहरू, सुरक्षा निकायका अधिकारीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अभ्यासअन्तर्गतको दोस्रो दिन रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठी विगाह क्षेत्रमा संयुक्त अभ्यास गरिएको थियो ।

नेपाली सेनाको सक्रियतामा विभिन्न सुरक्षा र प्रशासनिक निकायका साथै अन्य सरोकारवाला र सामुदायिक क्षेत्रको सहकार्य, तालमेल र समन्वयका माध्यमबाट विपद् व्यवस्थापनमा प्रभावकारी रणनीति निर्माण गर्ने लक्ष्यसहित गरिएको सो अभ्यासलाई सहभागीहरूले अत्यन्त सफल र उपयोगी अभ्यासको रूपमा मूल्याङ्कन गरेको बताइएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी मिश्र, नगर प्रमुख चौधरी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, सुनसरीमा रहेका सबै १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थीका साथै अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी करिब दुई सय जनाको उपस्थिति रहेको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीको भनाइ छ ।