• २९ जेठ २०८२, बिहिबार

अन्धकार चुडीगाउँ

blog

अमरगढी समाचारदाता 

डडेलधुरा, जेठ २८ गते  ।  लघुजलविद्युत् योजनाको मर्मत नहुँदा चुडी गाउँवासी अँध्यारोमा बस्न बाध्य छन् । भागेश्वर गाउँपालिका–१, चुडी गाउँमा तीन वर्षपहिले करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमागाड सिँचाइ तथा लघुजलविद्युत् योजना निर्माण गरिएपछि गाउँवासीले उज्यालो पाउनुभएको थियो । हाल उपकरण मर्मत हुन नसक्दा बेला बेला बिजुली जाने गरेको छ । लघुजलविद्युत् योजना निर्माण गरिएपछि २८ घरधुरी रहेको चुडीका सबै घर, एउटा आधारभूत विद्यालय र सामुदायिक भवनमा बिजुली बलेको थियो । 

उपकरण मर्मत नगर्दा नफेर्दा समस्या आएको हो । विद्युत्गृहका अपरेटर पदमसिंह थलाले भन्नुभयो, “उपकरण नयाँ फेर्न एवं मर्मत गर्ने जडान गर्ने अपरेटरसँग बुझ्दा उपकरण खरिदमा करिब तीन लाख रुपियाँ पर्ने र फेर्नका लागि आउने अपरेटर खर्च थप लाग्ने भन्नुभएको थियो तर हामीसँग रकम छैन । स्थानीय सरकारले आवश्यक रकम नछुट्याइदिँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता आएको छ ।”

उहाँका अनुसार यी उपकरणले काम गर्न छोड्दा राति १०–११ बजेको समयसम्म दुई/तीन पटक बिजुली जाने गरेको छ । गाउँभन्दामाथि अलि टाढा विद्युत्गृह बनाइएको छ । रातिको समयमा गाउँबाट विद्युत्गृहमा पुगेर फेरि सञ्चालनका लागि आउजाउ गर्न समस्या हुने गरेको उहाँले सुनाउनुभयो । प्रत्येक घरधुरीबाट मासिक एक सय रुपियाँका दरले शुल्क उठाउने गरे पनि उपकरण खरिदका लागि रकम उठ्न नसकेको उहाँले बताउनुभयो । सो आयोजनाको बिजुली उत्पादन क्षमता साढे नौ किलोवाट रहेको छ तर गाउँमा अहिले करिब एक किलोवाट विद्युत् मात्रै खपत हुन सकेको छ । 

बिजुली बलेसँगै गाउँमा मिल पनि सञ्चालन गरिएको थियो । हाल घट्ट निर्माण गरिएको उहाँले बताउनुभयो । चुडी गाउँको केही पर पत्रम र माथि बलकाँडे गाउँ छन् । योजनाका पोल र तार खपत नभई बँचेका पनि छन् । यहाँको बिजुली अन्य गाउँमा लैजाने कुनै योजना पनि नबनाइएकाले उत्पादन हुने बिजुली खेर गइरहेको उहाँको भनाइ छ । नेपाल–भारतको सीमा नदी महाकाली नदीको केहीमाथि पर्ने दुर्गम चुडी गाउँमा बिजुलीसँगै मिल सञ्चालनमा आएपछि स्थानीय कष्टकर जीवनयापनको समस्याबाट मुक्त भएका थिए । अहिले फेरि जनजीवन कष्टकर बन्न पुगेको चमागाड सिँचाइ तथा लघुजलविद्युत् योजनाका अध्यक्ष कालुसिंह बोहोराले बताउनुभयो । 

नेपाल सरकार, भागेश्वर गाउँपालिका, अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक, प्राविधिक सहयोगमा सो आयोजना निर्माण गरिएको थियो । चार हजार छ सय मिटर टाढाबाट कुलो बनाएर गाउँमा पानी पुगाएर सो आयोजना सञ्चालन गरिएको अध्यक्ष बोहोराले बताउनुभयो । विद्युत्गृहभन्दा तल गाउँ र खेतबारी रहेको छ । विद्युत्गृहबाट निस्केको पानी पिउन, सिँचाइ गर्न मिल्ने भएकाले पानीको बहुउपयोग भइरहेको उहाँले बताउनुभयो ।