• २९ जेठ २०८२, बिहिबार

प्रतिनिधिसभाको बैठक बस्दै

blog

काठमाडौँ, जेठ २८ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।

यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरुबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।  

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्नुहुने कार्यसूची छ ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । रासस