• २९ जेठ २०८२, बिहिबार

अर्थतन्त्रका अधिकांश सूचक अब्बल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २८ गते । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्याङ्क अनुसार आर्थिक अवस्था देखाउने राजस्व तथा खर्च, व्यापार, शोधनान्तर अवस्थासहित मौद्रिक अवस्था देखाउने कर्जा तथा निक्षेप परिचालन, मुद्रास्फीतिलगायतका सूचकमा उल्लेख्य सुधार पाइएको हो । 

तथ्याङ्कले मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर अवस्था अहिलेसम्मकै उच्च बचतमा देखाएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपियाँले बचतमा छ । यो अघिल्लो आवको तुलनामा ४६ अर्ब रुपियाँले बढी हो । 

शोधनान्तर अवस्थाले चालु खाता, पुँजीगत खाता र वित्तीय खातामा विदेशमा भित्रिएको र नेपालबाट बाहिरिएको रकमलाई बुझाउँछ । तथ्याङ्कले चालु खाता मजबुत हुँदा शोधनान्तर स्थिति उच्च बचतमा रहेको पुष्टि गर्छ । 

१० महिनामा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपियाँले बचतमा छ । यस अवधिमा चालु खातामा २० खर्ब २२ अर्ब रुपियाँ जम्मा हुँदा १७ खर्ब ६६ अर्ब १० करोड रुपियाँ बाहिरिएको छ । निश्चित समयमा हुने वस्तु तथा सेवाको कारोबार (अन्तर्राष्ट्रिय व्यापार), विपे्रषण आप्रवाह, प्रत्यक्ष लगानीबाट प्राप्त आम्दानीलगायतका शीर्षक चालु खातामा पर्छन् । चालु खाताले चालु प्रकृतिका अर्थात् तत्काल नै उपयोग गर्न सकिने रकमलाई बुझाउँछ । 

महँगी दर घट्यो

राष्ट्र बैङ्कको तथ्याङ्कले महँगी दर घटेको देखाउँछ । वैशाखमा यस्तो दर २.७७ प्रतिशत थियो जबकि अघिल्लो वैशाखमा यस्तो दर ४.४० प्रतिशत थियो । महँगीको तथ्याङ्कलाई राष्ट्र बैङ्कले उपभोक्ता मुद्रास्फीति अन्तर्गत प्रस्तुत गर्दछ । मुद्रास्फीतिले मुद्राको क्रय क्षमतामा आएको ह्रासलाई देखाउँछ । अर्थात् अघिल्लो वैशाखमा एक सय रुपियाँमा खरिद गरेको वस्तुलाई यस पटक वैशाखमा १०३ रुपियाँ तिर्नुपर्दा मुद्राको मूल्य तीन प्रतिशतले घटेको बुझ्न सकिन्छ । घटेको मूल्य नै मुद्रास्फीति हो, जसलाई महँगी अथवा मूल्यवृद्धि भनेर बुझ्ने प्रचलन छ । 

राष्ट्र बैङ्कका अनुसार वैशाखमा खाद्य तथा पेय पदार्थको महँगी दर १.५२ प्रतिशत छ र गैरखाद्यवस्तुको दर ३.४५ प्रतिशत छ । महँगी दर गाउँमा बढी देखिएको छ । गाउँमा ३.२१ प्रतिशतले महँगी बढ्दा सहरमा यस्तो दर २.६१ प्रतिशत मात्र छ । 

प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा कम अर्थात् २.१५ प्रतिशत र सबैभन्दा बढी कोशी प्रदेशमा ४.२९ प्रतिशत महँगी दर रहेको छ । थोक मुद्रास्फीति दर भने ३.९५ प्रतिशत मात्र रहेको तथ्याङ्क छ । 

निर्यातमा ऐतिहासिक वृद्धि

वैशासम्म मुलुकबाट हुने निर्यातमा ऐतिहासिक वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार वस्तु निर्यात ७२.७ प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब रुपियाँ नाघेको छ । आयात पनि १३.१ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड रुपियाँ पुगेको छ । कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले बढेको छ । 

सेवा क्षेत्र भने घाटामा देखिएको छ । वैशाखसम्म सेवा क्षेत्र ८६ अर्ब ५३ करोड रुपियाँले घाटामा रहेको तथ्याङ्क छ । खास गरी भ्रमणबापत बाहिरिने रकम बढी हुँदा सेवा आय घाटामा रहेको पाइएको छ । भ्रमण आम्दानी ८.३ प्रतिशतले बढेर ७५ अर्ब ७१ करोड रुपियाँ पुगे पनि सोही शीर्षकमा नेपालबाट बाहिरिने रकम १७.९ प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब तीन करोड रुपियाँ पुगेको छ । 

विप्रेषणमा निरन्तर वृद्धि

वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणबापतको रकम निरन्तर वृद्धिकै लयमा देखिएको छ । तथ्याङ्क अनुसार वैशाखसम्म विप्रेषण आप्रवाह १३.२ प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख पाँच हजार र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८० हजार रहेको छ । 

सत्र महिनालाई पुग्ने विदेशी मुद्रा 

मुलुकसँग विदेशी मुद्राको सञ्चिति थुप्रिएको छ । राष्ट्र बैङ्कका अनुसार वैशाख मसान्तसम्म विदेशी मुद्राको सञ्चिति २२ खर्ब ११ अर्ब रुपियाँ बराबर रहेको छ । अमेरिकी मुद्रामा यस्तो सञ्चिति १५ अर्ब २७ करोड डलर रहेको छ । कुल सञ्चितिमध्ये भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ । मुलुकसँग रहेको सञ्चितिले १७ महिना १२ दिनको वस्तु र एक वर्षको वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैङ्कले जनाएको छ । 

कर्जामा सुधार 

समीक्षा अवधिमा कुल आन्तरिक कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २४.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२ प्रतिशतले घटेको थियो । 

मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.७ प्रतिशतले बढेको थियो । 

बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६८ अर्ब ६८ करोड (७.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको थियो ।

गत वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.७ प्रतिशत र ३६.३ प्रतिशत थियो ।

निक्षेप परिचालन पनि बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप तीन खर्ब ९९ अर्ब ८१ करोड (६.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार खर्ब ४३ अर्ब आठ करोड (७.८ प्रतिशत) ले बढेको थियो ।

गत वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.५ प्रतिशत, ३५.९ प्रतिशत र ५०.८ प्रतिशत छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत थियो । गत वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ । गत वर्षको वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३५.७ प्रतिशत रहेको थियो ।