• १३ पुस २०८२, आइतबार

‘भारत र चीनसँग विकास रणनीति’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत र चीनसँग समन्वय गरेर नेपालले विकास र व्यापारको नयाँ रणनीति बनाउनुपर्ने बताउनुभएको छ । 

‘फ्रेन्डस अफ सिल्क रोड क्लब’ ले मङ्गलबार आयोजना गरेको ‘साझा भविष्यसहितको समुदाय निर्माण’ विषयक कार्यक्रममा उहाँले विश्व बजारमा व्यापारको होडबाजी चलिरहेका बेला नेपालका वस्तु तथा कला संस्कृतिको बजारीकरणका लागि दुई छिमेकीलाई समन्वयमा ल्याएर लाभ लिने गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । चीनले जसरी बिआरआई परियोजनासँगै आर्थिक, समाजिक र सांस्कृतिक अवधारणालाई जोडेर विकासलाई अघि बढाएको छ, त्यसबाट नेपालले पाठ सिकेर कला, संस्कृति जस्ता अमूल्य निधिलाई बजारीकरण गर्न सके पारस्परिक लाभ लिन सकिने उहाँले प्रस्ट पार्नुभयो । 

कार्यक्रममा डा. विक्रम तिमिल्सिनाले वर्तमान युगमा सभ्यता र साझा मूल्यमान्यता, डा. लीला न्याइच्याईले क्षेत्रीय एकताका विषयमा प्रस्तुति दिनुभयो । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले चीन भ्रमणका क्रममा देखिएका सामुदायिक अभ्यासबारे अनुभव साट्नुभयो । कार्यक्रमका सहभागीले स्थानीय तहसम्म नै सामुदायिक विकासको अवधारणालाई बृहत् बनाएर लैजानुपर्ने सुझाव दिनुभएको थियो ।