लीलाधर वली
घोराही, जेठ २७ गते । दाङका दस स्थानीय तहले सङ्घीय सरकारबाट पाँच अर्ब बढी अनुदान प्राप्त गर्ने भएका छन् । सङ्घीय सरकारबाट आगामी आर्थिक वर्ष २०८२-०८३ मा जिल्लाका दस स्थानीय तहले पाँच अर्ब एक करोड १० लाख रुपियाँ अनुदान पाउने भएका छन् ।
चालु आर्थिक वर्षमा २०८१-८२ मा चार अर्ब ९५ करोड ८३ लाख अनुदान पाएका थिए । अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घीय सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार शीर्षकबाट अनुदान दिने गरेको छ । जिल्लामा आउने बजेटमध्ये चालुतर्फ चार अर्ब ४३ करोड ५८ लाख बजेट आउने भएको छ भने पुँजीगततर्फ ५७ करोड ५२ लाख बजेट रहेको छ । विशेष अनुदानतर्फ ६ करोड तीन लाख र समपूरक अनुदानतर्फ नौ करोड ६२ लाख रुपियाँ १० स्थानीय तहले पाउने भएका हुन् ।
आगामी आर्थिक वर्ष घोराहीले चालुतर्फ एक अर्ब ९७ करोड ३९ लाख र पुँजीगततर्फ १९ करोड २५ लाख गरी दुई अर्ब १६ करोड ६४ लाख बजेट पाउने भएको छ । घोराहीले चालु आर्थिक बर्षमा चालुतर्फ एक अर्ब एक करोड ५४ लाख र पुँजीगततर्फ ११ करोड ६२ लाख गरी एक अर्ब १३ करोड १६ लाख बजेट पाएको थियो ।
आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा कम अनुदान पाउने दङ्गीशरण गाउँपालिकाले चालुतर्फ २२ करोड ८७ लाख र पुँजीगततर्फ पाँच करोड ५५ लाख गरी २८ करोड ४२ लाख रुपियाँ पाउने भएको छ । यसअघि दङ्गीशरणले चालुतर्फ २२ करोड ७६ लाख र पुँजीगत खर्च पाँच करोड ५० लाख गरी २८ करोड २६ लाख पाएको थियो । आर्थिक वर्ष २०८१-०८२ मा चालुतर्फ ९६ करोड ७३ लाख र पुँजीगततर्फ सात करोड ५० लाख गरी एक अर्ब चार करोड २३ लाख बजेट पाएको तुलसीपुर उपमहानगरले आगामी वर्षमा चालुतर्फ एक अर्ब तीन करोड ६३ लाख र पुँजीगततर्फ १० करोड ८३ लाख गरी एक अर्ब १४ करोड ४६ लाख पाउने भएको छ ।
लमही नगरपालिकाले चालुतर्फ ३७ करोड १२ लाख र पुँजीगत पाँच करोड ९९ लाख गरी ४३ करोड ११ लाख, गढवा गाउँपालिकाले चालुतर्फ ३६ करोड ४८ लाख र पुँजीगततर्फ पाँच करोड ११ लाख गरी ४१ करोड ५९ लाख, बङ्गलाचुली गाउँपालिकाले चालुतर्फ २९ करोड ८७ लाख र पुँजीगततर्फ पाँच करोड ६५ लाख गरी ३५ करोड ५२ लाख पाउने भएका छन् ।
बबई गाउँपालिकाले चालु तर्फ २७ करोड ६४ लाख र पुँजीगततर्फ तीन करोड ९० लाख गरी ३१ करोड ५४ लाख, राजपुर गाउँपालिकाले चालुतर्फ २८ करोड ४९ लाख र पुँजीगततर्फ ६ करोड दुई लाख गरी ३४ करोड ५१ लाख, राप्ती गाउँपालिकाले आगामी वर्ष चालुतर्फ ३६ करोड ६ लाख र पुँजीगततर्फ तीन करोड ८५ लाख गरी ३९ करोड ९१ लाख, शान्तिनगर गाउँपालिकाले आगामी वर्ष २७ करोड ६६ लाख चालुतर्फ र दुई करोड २० लाख पुँजीगत तर्फ गरी २९ करोड ८६ लाख पाउने भएका छन् ।
घोराहीले आगामी वर्ष ३१ करोड १२ लाख पाउने भएको छ । तुलसीपुरले २८ करोड ३३ लाख, लमहीले १४ करोड ८९ लाख, गढवाले १३ करोड ५१ लाख, दङ्गीशरणले नौ करोड ५० लाख, बङ्गलाचुलीले १० करोड ६ लाख, बबईले ११ करोड एक लाख, राजपुरले ११ करोड २५ लाख, राप्तीले १३ करोड २७ लाख र शान्तिनगरले १० करोड पाँच लाख समानीकरण अनुदान पाउने भएका छन् ।
सशर्त अनुदानतर्फ घोराहीले ८१ करोड ५९ लाख, तुलसीपुर उपमहानगरपालिकाले ७२ करोड ९३ लाख, लमही नगरपालिकाले २७ करोड चार लाख, गढवाले २६ करोड ४६ लाख, दङ्गीशरणले १७ करोड २६ लाख, बङ्गलाचुलीले २३ करोड ८६ लाख, बबईले १८ करोड ४३ लाख, राजपुरले २१ करोड २९ लाख, राप्तीले २४ करोड ७९ लाख र शान्तिनगरले आगामी वर्षका लागि १८ करोड ८१ लाख अनुदान पाउने भएका छन् ।
समपूरक र विशेष अनुदान
आगामी वर्ष घोराहीले विशेष अनुदान ८५ लाख पाउने भएको छ । तुलसीपुरले समपूरक अनुदान ९२ लाख, लमही नगरपालिकाले समपूरक अनुदान एक करोड १८ लाख, गढवा गाउँपालिकाले विशेष अनुदान ५७ लाख र समपुरक एक करोड पाँच लाख, दङ्गीशरण गाउँपालिकाले विशेषमा ६९ लाख र समपूरकमा ९७ लाख पाउने भएको छ ।
बङ्गलाचुलीले विशेषतर्फ ९० लाख र समपूरकतर्फ ७० लाख पाउने भएको छ । बबईले विशेषतर्फ ९० लाख र समपूरकमा एक करोड २० लाख। राजपुरले विशेषमा एक करोड २७ लाख र समपूरकमा ७० लाख, राप्तीले विशेषतर्फ ८५ लाख र समपूरकमा एक करोड र शान्तिनगरले समपूरक अनुदानमा एक करोड पाउने भएका छन् ।