बैतडी समाचारदाता
बैतडी, जेठ २५ गते । भारतमा कोरोना सङक्रमण फैलिरहेका बेला सीमानाका झुलाघाट स्वास्थ्य केन्द्रमा कोरोना परीक्षण गर्ने किट अभाव भएको छ । नाकामा होल्डिङ सेन्टरसमेत छैन । त्यसमाथि जनशक्ति र उपकरण अभाव हुँदा थप समस्या सिर्जना भएको छ । सङ्घीय सरकार मातहत रहने गरेर गएको कोरोना सङ्क्रमणका बेला स्थापना भएको झुलाघाट स्वास्थ्य केन्द्र भाडाको घरमा सञ्चालित छ ।
दुई जना ल्याब असिस्टेन्ट र एक जना सहयोगी कर्मचारीको भरमा चलेको स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी बस्ने कोठा नहुँदा डेरामा बस्दै आएका छन् । झुलाघाट नाकाबाट दैनिक दुई सय मानिसको आवतजावत हुने भए पनि स्वास्थ्य केन्द्रमा अहिले ७५ वटा किट मात्रै रहेको ल्याब असिस्टेन्ट राजेन्द्र लोहारले बताउनुभयो ।
उहाँले उपलब्ध किट पनि गएको कोरोनाका बेला बचेका किट दराजमा रहेको बताउनुभयो । भारतमा कोरोना सङक्रमण फैलिए पनि शङ्कास्पद व्यक्तिको मात्रै कोरोना परीक्षण गर्ने तयारी भएको उहाँले बताउनुभयो । झुलाघाट नाकाबाट बैतडी, बझाङ, बाजुरा, डोटी र हुम्ला जुम्लासम्मका नेपाली ओहोरदोहोर गर्ने भएकाले सङक्रमित फेला परे पनि होल्डिङ सेन्टर नभएको ल्याब असिस्टेन्ट लोहारले बताउनुभयो ।
आफू ल्याब असिस्टेन्ट भए पनि ल्याब नभएकाले स्वाब परीक्षण गर्न जिल्ला अस्पताल पठाउँदा सङक्रमितलाई सुरक्षित बसाल्ने ठाउँ नभएको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रमा सुरक्षाकर्मीको व्यवस्था नभएकाले शङ्कास्पद व्यक्तिलाई रोकेर कोरोना परीक्षण गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो ।
झुलाघाट स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव र होल्डिङ सेन्टर नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न कठिनाइ भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय नाका भएकाले केन्द्रका स्वास्थ्यकर्मीको तलब सङ्घीय सरकारले बेहोर्छ । स्वास्थ्य केन्द्रेको आफ्नै भवन नहुँदा भाडामा बस्नु परेको छ । भाडा, पानी बिजुलीको शुल्क प्रदेश सरकार मातहतको स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको छ । सुपरिवेक्षणको काम दशरथ चन्द नगरपालिका मातहत रहेको छ ।”
स्वास्थ्य केन्द्रमा अस्थायी करारका स्वास्थ्यकर्मी कार्यरत रहेकाले कोठा भाडा र चाडपर्वको पेस्की सुविधा नभएको स्वास्थ्यकर्मीको गुनासो छ । हेल्थ डेस्कको जिम्मेवारीका विषयमा पनि स्पष्ट व्यवस्था नभएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताउनुभयो । गत वर्ष स्वास्थ्यकर्मीको तलब नै गायब हुँदा बल्लतल्ल खोजी गरेर उपलब्ध गराएको उहाँले बताउनुभयो ।
सीमानाकाको स्वास्थ्य केन्द्र विपत्का बेला मात्रै नभई अरू बेला पनि आवश्यक पर्ने भएकाले स्वास्थ्यकर्मीको स्थायी दरबन्दी कायम गरेर व्यवस्थित बनाइनुपर्ने झुलाघाटका स्थानीय विजय भाटले बताउनुभयो ।