चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १४ गते । ताप्लेजुङमा ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ) ले ६५ वटा विद्यालय भवन निर्माण गरी दिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेको एचपिएफले जिल्लाका विभिन्न विद्यालयका पक्की भवन निर्माण गरी दिएको हो ।
विगत आठ वर्षदेखि ताप्लेजुङमा क्रियाशील रहेको संस्था एचपिएफले हालसम्म ६५ वटा विद्यालय भवन निर्माण गरेको हो । एचपिएफका जिल्ला कार्यक्रम निर्देशक अमित श्रेष्ठका अनुसार ६५ मध्ये ६४ वटा विद्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आठराई त्रिवेणी गाउँपालिकास्थित परमसिंहदेवी माध्यमिक विद्यालय निघुरादिनको एउट भवन भने निर्माणाधीन रहेको कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उक्त निर्माणधीन भवनको काम पनि करिब ७० प्रतिशत सम्पन्न भइसकेको छ ।
नौ वटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा १२ वटा विद्यालय भवन निर्माण भएको छ । यस्तै सिरिजङ्घा गाउँपालिकामा नौ वटा, आठराई त्रिवेणी र पाथीभरा याङ्वरक गाउँपालिकामा आठ–आठ वटा विद्यालय भवन निर्माण भएको कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्ताङ्लुङ गाउँपालिकामा सात, सिदिङ्वा र मेरिङ्देन गाउँपालिकामा छ–छ वटा विद्यालय भवन निर्माण भएको छ ।
मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा भने पाँच–पाँच वटा विद्यालय भवन निर्माण गरेको एचपिएफले जनाएको छ । शिक्षा क्षेत्रअन्तर्गत पूर्वाधार विकास, सिकाइ सुधार र आर्थिक सशक्तिकरणको पाटोमा काम गरिरहेको एचपिएफले जनाएको छ । जिल्लाभरका ५८ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएको र पूर्वाधार विकासतर्फ विद्यालय भवनसँगै शौचालय, खानेपानी निर्माणलगायतका काम गरिएका छन् ।
निर्देशक श्रेष्ठका अनुसार विभिन्न विद्यालयमा ५१ वटा शौचालय निर्माण गरिएको छ । यस्तै इन्टेक र रिजर्भ ट्याङ्की तथा धारासहित नौ वटा विद्यालयमा खानेपानी निर्माण गरिएको श्रेष्ठले जानकारी दिनुभयो । सिकाइ सुधारतर्फ विद्यालयमा कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय र बालकक्षाको व्यवस्था गरिएको छ । त्यस्तै एकीकृत पाठ्यक्रम, बाल सुरक्षा नीतिसम्बन्धी, आइटी लगायतमा शिक्षक, विद्याथी र अभिभावक समेतलाई विषयगत तालिमहरु प्रदान गरिएको एचपिएफले जनाएको छ ।
यसैगरी आर्थिक सशक्तिकरणतर्फ जीवनोपयोगी सीप तथा लघु उद्यमशीलतासम्बन्धी कार्यक्रमहरु कार्यान्वयन गरिएको एचपिएफले जानकारी दिएको छ । विभिन्न ३९ वटा विद्यालयमा केन्द्रित रहेर आर्थिक सशक्तिकरणका कार्यक्रम गरिएका छन् । जसमा बाख्रा पालन, बङ्गुर र कुखुरा पालन साथै तरकारी खेतीसम्बन्धी २६६ जना उद्यमीलाई आवश्यक तालिम दिलाउनका साथै अन्य सहयोग गरिएको एचपिएफले जनाएको छ ।
एचपिएफले सूचना र प्रविधिसम्बन्धी कक्षा सञ्चालन गर्नेगरी फुङ्लिङमा एक आइटी एकेडेमीसमेत स्थापना गरी दिएको छ । जिल्ला कार्यक्रम निर्देशक श्रेष्ठका अनुसार अब ताप्लेजुङमा आर्थिक सशक्तिकरणअन्तर्गत लघु उद्यमशिलता कार्यक्रमले मात्र निरन्तरता पाउने छ । पूर्वाधार विकाससहितका एचपिएफका अन्य कार्यक्रम पाँचथर, तेह्रथुम र धनकुटामा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो ।
एचपिएफले हालसम्मको प्रगति विवरण र भइरहेको गतिविधिबारे जानकारी दिन जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सदरमुकाम फुङ्लिङमा मङ्गलबार सम्पन्न गरेको हो । बैठकमा सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम, मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमसहित सरोकारवालाको बैठकमा सहभागिता रहेको थियो ।