सुर्खेत समाचारदाता
सुर्खेत, जेठ १४ गते । कर्णाली प्रदेशले आर्थिक परिसूचकमा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा बढी रहने प्रक्षेपण गरिएको छ । राष्ट्रिय आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहँदा कर्णालीको ४.७४ प्रतिशत रहेको जानकारी राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँले सुर्खेतमा कर्णाली प्रदेशको प्रादेशिक लेखा अनुमान सार्वजनिक दिएको हो ।
यसै गरी कर्णालीको अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ उत्पादन दुई खर्ब ५५ अर्ब ५९ करोड हुने पनि अनुमान गरिएको छ तर यो प्रदेशगत आधारमा सबैभन्दा कम हो । राष्ट्रिय कुल गार्हस्थ उत्पादन ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान छ ।
प्रादेशिक लेखा अनुमान सार्वजनिक गर्दै तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका प्रमुख विनोद आचार्यले राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा कर्णालीको वृद्धिदर केही माथि भएको जानकारी दिनुभयो । कर्णालीको आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार क्रमशः बढ्दै गएकाले सन्तोषजनक भएको उहाँले जनाउनुभयो ।
कर्णालीको विगत तीन वर्षको अवधिमा कुल गार्हस्थ उत्पादन वृद्धिदर बढ्दै गएको छ । आव २०७९/८० मा दुई खर्ब ३० अर्ब, आव २०८०/८१ मा दुई खर्ब ५० अर्ब र चालु आव २०८१/८२ मा दुई खर्ब ५५ अर्ब रहेको जानकारी उहाँले दिनुभयो । यस्तै देशको कुल गार्हस्थ उत्पादनमा कर्णालीको योगदान ४.२ प्रतिशत रहेको छ ।
कुल गार्हस्थ उत्पादनमा कर्णालीमा सेवा क्षेत्रको सबैभन्दा बढी योगदान छ । सेवा क्षेत्रको ५८.९ प्रतिशत, प्राथमिक क्षेत्रको ३१.७ प्रतिशत र द्वितीय क्षेत्रको ९.४ प्रतिशत योगदान छ । सेवा क्षेत्रमा आवास तथा भोजन, थोक तथा खुद्रा व्यापार, सूचना तथा सञ्चार, घरजग्गा कारोबार र अन्य सेवालाई राखिएको छ । प्राथमिक क्षेत्रमा कृषि, वन तथा मत्स्य, खानी तथा उत्खनन क्षेत्र पर्छ भने द्वितीय क्षेत्रमा उद्योग, कलकारखाना, विद्युत्, ग्यास, पानी, निर्माणलगायतका क्षेत्र पर्छन् । कर्णालीमा ठुला उद्योग कलकारखाना नभएकाले यहाँ सेवा क्षेत्र, कृषि, वन, खानी तथा खनिजको योगदान बढी छ ।
यसै गरी कुल गार्हस्थ उत्पादनको प्रतिव्यक्ति आयमा कर्णालीको एक हजार ८९ डलर रहेको जानकारी तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका प्रमुख आचार्यले दिनुभयो । प्रतिव्यक्ति आय पनि तीन वर्षको तुलनामा बढेको छ । गत वर्ष एक हजार ७६ डलर थियो भने त्यसअघि एक हजार ३० डलर थियो । प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले प्रदेशको लेखा अनुमानले प्रदेशको आर्थिक अवस्था, अवसर र आगामी दिनमा गर्नुपर्ने कामबारेमा निर्देशन गर्ने बताउनुभयो ।