• १५ जेठ २०८२, बिहिबार

गरिबी घटाउन खुला छलफल गरौं : मुख्यमन्त्री शाह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, जेठ १३ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको गरिबी घटाउनका लागि सरोकारवालासँग खुला छलफल गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ। 

धनगढीमा आज प्रदेश सरकार र प्रदेशमा कार्यरत विकास साझेदार संस्थाहरुले गरेको असल अभ्यासहरुको आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। प्रदेशमा तीन जनामध्ये एक जना निरपेक्ष गरिबीको रेखामुनि रहेको भन्दै उहाँले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो। गरिबी न्यूनीकरण गरी मानव विकास सूचकाङ्कलाई अगाडि बढाउन निजी क्षेत्रसहित सरकारी तथा गैरसरकारी संस्थाहरुसंग खुल्ला छलफलका लागि उहाँले आह्वान गर्नु भएको छ। 

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकारको प्रमुख कार्यक्रम, प्राथमिकता र अपेक्षाहरुको प्रस्तुति गरेको थियो। यसैगरी, गैरसरकारी संस्था महासंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघ र संयुक्त राष्ट्र संघीय निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरुको कार्यक्रममा साझा प्रस्तुति रहेको थियो।