गाजा, जेठ १३ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जीवित र मृतक सबै बन्धकहरूलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको यो भनाइ १० इजरायली बन्धकको रिहाइसहित प्रस्ताव गरिएको ७० दिन लामो युद्धविरामसम्बन्धी बहसबीच आएको हो ।
इजरायलले गाजामा आक्रमण तीव्र बनाउँदै लगेका बेला अन्तर्राष्ट्रिय समुदायबाट आलोचना बढेको छ । लामो नाकाबन्दीपछि गाजामा मानवीय सहायता प्रवाह पुनः सुरु गरिएको जनाइएको छ ।
सन् २०२३ को अक्टोबरमा हमासको आक्रमणमा २५१ जना इजरायलीहरू अपहरणमा परेका थिए, जसमा हालसम्म ५७ जना गाजामा छन् र ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।
सोमबार गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिनुभएको छ । अर्को आक्रमणमा जबालिया क्षेत्रमा थप १९ जनाको मृत्यु भएको छ । इजरायली सेनाले हमास र इस्लामिक जिहादका उच्च नेताहरू लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ । रासस/एएफपी