• २२ जेठ २०८२, बिहिबार

गाउँपालिकामा मनसुन पूर्व तयारी

blog

विपद् व्यवस्थापन समितिको बैठक । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, जेठ १२ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनसुन पूर्व तयारी थालिएको छ । 

विपद् व्यवस्थापन समितिको सोमबार बैठक बसेर आउँदै गरेको मनसुनमा हुन सक्ने प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा आवश्यक पूर्व तयारी थालिएको हो । 

बैठकमा चट्याङ पूर्व सूचना प्रणालीको जडान, भाँडाकुँडा तथा सिरक–डसना खरिद, डढेलो व्यवस्थापन सम्बन्धी तालिमको सञ्चालन तथा प्रभावितहरूलाई राहत वितरण लगायतको कार्य गरिएको थियो । 

बैठकले प्रि–मनसुन अवधिमा आउने हावा हुरी तथा भारी वर्षाका कारण हुन सक्ने क्षतिको आँकलन गरी पूर्व तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । 

साथै, विपद् व्यवस्थापनमा संलग्न स्वयंसेवकहरूलाई सुरक्षा निकायको समन्वयमा कृत्रिम अभ्यास सहितको पुनर् ताजगी तालिम सञ्चालन गरिने भएको गाउँपालिकाले जनाएको छ ।

विपद्को कारण क्षति पुगेका मोटर बाटोलाई ग्राभेल गर्ने, हेलिप्याड, खानेपानी मुहान र पाइपलाइनको सुरक्षा, खुला ठाउँ तथा आश्रय स्थलको व्यवस्थापनमा विशेष ध्यान दिने, सूचनाप्रति चनाखो रहने र क्षति भएका घटनाहरू तत्काल नगर प्रहरीलाई जानकारी गराउने बैठकले निर्णय गरेको छ ।

बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले प्राकृतिक विपद् व्यवस्थापनमा स्थानीय तहको सक्रियता र समन्वय अपरिहार्य रहेको भन्दै समुदाय स्तरमा समेत सजगता र सहभागिता जरुरी रहेको बताउनुभयो ।

“विपद् पूर्व तयारी नै प्रभावकारी व्यवस्थापनको आधार हो, हामी सतर्क र सशक्त भएर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । बैठकमा सहभागी सरोकारवाला निकायहरूले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा उपाध्यक्ष बनस्तम थिङ, प्रशासकीय प्रमुख पदमबहादुर बस्नेत, वडा अध्यक्षहरू, रेडक्रस प्रतिनिधि, प्रहरी चौकी चैनपुर, नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।