• २६ जेठ २०८२, सोमबार

‘सुशासन र पारदर्शिताका लागि मिडियाको भूमिका महत्वपूर्ण’

blog

मुख्यमन्त्री आचार्यसँग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका पदाधिकारीहरु छलफल गर्दै ।

सन्तोष दहित

दाङ, जेठ  १२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका  लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं नेतृत्वको पत्रकारसँग छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

भेटका क्रममा लुम्बिनी प्रदेशको पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, सञ्चार माध्यमले भोगिरहेका चुनौती र आगामी आर्थिक वर्षको बजेटमा पत्रकार र पत्रकारिताको समग्र बिकासका सन्दर्भमा समावेश गर्न कार्यक्रम र योजनाबारे छलफल गरिएको पत्रकार चौलागाईंले बताउनुभयो । 

मुख्यमन्त्री आचार्यले लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि सञ्चार क्षेत्र अपरिहार्य भएको सो अवसरमा चर्चा गर्नुभयो । “नागरिकलाई सशक्त बनाउने, शासन प्रणालीलाई जवाफदेही बनाउने र राज्यको गतिविधिलाई जनतासामु पारदर्शी बनाउने काम मिडियाबाट मात्र सम्भव हुन्छ, उहाँले भन्नुभयो । “आगामी बजेटमा मिडिया क्षेत्रको सुदृढीकरण, पत्रकार सुरक्षाको प्रत्याभूति र सञ्चार माध्यमको प्रवर्धनसम्बन्धी नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिनेछ, मुख्यमन्त्रीको भनाइ थियो।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकार प्रदेशका दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोडने काम गरिरहेकाले उनीहरूको आर्थिक, सामाजिक सुरक्षामा सरकारले विशेष प्याकेज ल्याउन आवस्यक भएको बताउनुभयो । “प्रदेश सरकारले पत्रकारको सीप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय सञ्चार संस्थाको दिगोपनाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक छ, उहाँले भन्नुभयो । उहाँले आगामी बजेटमा मिडियामैत्री नीति र कार्यक्रम समावेश गर्न उहाँहरुले माग गर्नुभयो ।

महासचिव पाण्डव शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मिडिया हाउसहरूको सुदृढीकरणका लागि प्रदेश सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनु पर्नेमा जोड दिनुभयो । “सञ्चारका नयाँ प्रविधिमा लगानी, पत्रकारलाई तालिम, अनुसन्धान र सामग्री विकासमा सहयोग पुर्‍याउने नीति आवश्यक छ, शर्माले भन्नुभयो, “प्रदेश सरकारले पत्रकार महासंघसँग सहकार्य गर्दै सञ्चार क्षेत्रलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्छ ।”

बैठकमा सहभागी सबै पक्षले पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सरकार र महासंघबिच सहकार्य, संवाद र विश्वासको वातावरण विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।