• १० जेठ २०८२, शनिबार

कविता लेख्न बस्दा (कविता)

blog

मलाई मस्तिष्कले भन्दा

मनले लेखेका कविताहरू राम्रा लाग्छन् ।

मस्तिष्क भनेको मानिसले बनाएको धरहरा हो

सिंहदरबार हो

घण्टाघर हो

चिडियाखाना हो

म्युजियम हो

टुँडिखेल हो

धरहरा : जहाँ चढ्न टिकट काट्नु पर्छ

सिंहदरबार : जहाँ घुम्न पास बनाउनु पर्छ

घण्टाघर : जो ब्याट्री नभई बज्दैन

चिडियाखाना : जहाँ जनावरलाई कैदी बनाइएको छ

म्युजियम : जहाँ पस्न आदेश चाहिन्छ

टुँडिखेल : जहाँ चारैतिर बार लगाइएको छ

हो, मलाई यस्ता कविताहरू राम्रा लाग्दैनन् ।

मन भनेको मानिसले खोजेको स्वतन्त्रता हो

घाम हो

जून हो

नदी हो

हिमाल हो

हावा हो

फूल हो

प्रकृति हो

घाम : जसलाई उदाउन कसैको आदेश चाहिँदैन

जून : जसलाई टल्किन कसैको अनुमति चाहिँदैन

नदी : जो सधैँभरि आफूखुसी बगिरहेको छ

हिमाल : जसलाई अग्लिन कसैको इसारा चाहिँदैन

हावा : जो कैदमा बस्न सक्दैन

फूल : जसलाई फुल्न ब्याट्रीको आवश्यकता पर्दैन

प्रकृति : जो बाह्रै महिना चलायमान भइरहेको हुन्छ

हो, मलाई यस्ता कविताहरू राम्रा लाग्छन् ।