एउटा मान्छेको स्वभाव अर्को मान्छेसँग मिल्दैन । एउटाको आनीबानी अर्कोको आनीबानीसँग मिल्दै मिल्दैन । एउटाले चालेका पाइला अर्कोले चालेका पाइलासँग ठ्याक्कै मिल्दैनन् । आआफ्नो शैली र स्वभावमा मान्छेको जीवनरूपी गाडी गुडिरहेको हुन्छ । जीवनरूपी गाडीको इन्धन भन्नु नै उसको चाहना, रुचि र क्षमता हो । भनिन्छ नि, “तँ चिता मात्र म पु¥याइदिन्छु ।” यसो भनेर मनले चिताउनासाथै सबैका सबै इच्छा चाहना पुगेका त हुँदैनन् तर जजसका पुगेका छन्, तिनका पनि चिताएरै पुगेका त हुन् ।
त्यसो त परिश्रम नगर्ने हो भने सुती सुती चिताएर मात्रै किन पो हुन्थ्यो । श्रीमद्भागवत गीताको व्याख्या गर्नेहरूले भन्छन्, “कर्म गर, फलको आशा नगर !” यसो भनेर फलको प्राप्ति तिम्रो वशमा छैन, त्यो त भगवान् भरोसामा रहेको हुन्छ भनेर निरन्तर कर्ममा प्रेरित गर्न खोजिएको हो तर कर्म गर्ने भनेकै फलको आसले हो । भन्नेले भनिदिए मात्रै, ती भन्ने वा लेख्नेले पनि फलको आशा राखेकै थिए र उनीहरूलाई प्राप्ति पनि भएथ्यो ।
अबको युगमा त्यो फल यही जीवनकालमा कर्मको परिणामस्वरूप मिल्नु पर्छ भन्ने हो । परिश्रम गर्नेले आफ्नो इच्छाशक्तिले फल पाइरहेकै छन् । सन्दर्भ उठानमा परिश्रम र परिणामलाई जोड्न खोजेको मात्र हो ।
त्यसो त एउटै मान्छेलाई हेर्ने दृष्टिकोण पनि सबैको एउटै हुँदैन । चिन्नेले पनि एकै किसिमले चिनेका हुँदैनन् । मैले फरक किसिमले चिनेको मान्छेलाई तपाईंले झन् फरक किसिमले चिन्नुभएको हुन सक्छ । हो त, प्रेरणालाई मैले ‘हतारको मान्छे’ का रूपमा चिनेको छु तर तपाईंले अर्कै किसिमले चिनेको हुनु पर्छ । आफ्नै किसिमले चिनेको प्रेरणाकै बारेमा केही कुरा गरौँ ।
मैले त उहाँलाई जहिल्यै हतारमै भइरहेको, हातमा ब्याग बोकेर दौडिरहेको, कार्यक्रममा पुगिरहेको, पत्रपत्रिकामा लेखिरहेको, पुस्तक लोकार्पण गराइरहेको, पत्रपत्रिका प्रकाशन गरिरहेको, विदेश घुमिरहेको, स्वदेश आइरहेको, विदेश गइरहेको यस्तैमा देखिरहेको छु । आफ्नो क्षमतासँग आफैँ परिचित नभएर खुम्चिएका धेरै होलान् तर गोविन्द गिरी प्रेरणाले आफ्नो क्षमताको भरपुर उपयोग गर्न सक्नुभएको मेरो बुझाइ छ ।
उहाँ अमेरिका गएपछि पनि नेपालमै भइरहेको जस्तो अनुभूति गराउन सक्नु उहाँको नेपाली भाषा साहित्यप्रतिको लगावकै कारण हो । यसभन्दा पर अर्को कुनै कारण म देख्दिनँ । नेपालका धेरै साहित्यकार, पत्रकार, कलाकार विदेश गएका छन् तर अधिकांश पलायन भएका छन् । पलायन हुनेहरू गुमनाम रहेका छन् । यता सुनाम भएकाहरू उता गएपछि गुमनाम हुँदा मनमा रहेको उसप्रतिको आदरभाव त्यत्तिकै बिलाउँदो रहेछ । अनि भन्न बाध्य भइन्छ, “ए, त्यो उतै भासियो !”
ऊ विदेश गयो, आफ्नै अनेक कारणले गयो । देशसँगको सम्बन्ध भनेको ऊसँगको मात्रै हो । उसको सम्बन्ध भनेको समकालीन पुस्तासँगको मात्रै हो । बिदेसिएकाको सन्तान पुस्तालाई यो देशको माया किन रहोस् ! उसका आमाबाबु त देशसँग अघाएर वा वितृष्णाले वा यता सङ्घर्ष गर्न नसकेर अवसरको खोजीमा बिदेसिए भने उसका सन्तानले पुर्खा देशलाई सम्झेनन् भनेर हामीले रोइलो गर्न मिल्दै मिल्दैन ।
गोविन्दजी बिदेसिएपछि धेरैले भने, “अब भासियो, फर्केर आउँदैन । नेपाली भाषा र साहित्यमा केही गर्न सक्ने मान्छे थियो ऊ । स्वदेशमै चाहिने मान्छे थियो ऊ । उसको अभाव नेपाली साहित्यमा पक्कै पनि खड्किने छ ।” यस्ता स्वाभाविक अड्कलबाजीलाई उहाँले निमिट्यान्न पारिदिनुभएको छ । अस्ति अमेरिकाको कुनै कार्यक्रममा देखिएको मान्छे आज नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै कार्यक्रममा सहभागी भइरहेको देख्न सकिन्छ । आज यहाँ सँगै कार्यक्रममा भएको मान्छे पर्सि अमेरिकामा देखिएको हुन्छ । उहाँले उतै गइसकेपछि पनि एक दर्जनको हाराहारीमा विभिन्न विधाका पुस्तक प्रकाशन गरिसक्नुभएको छ । भन्दै हुनुहुन्थ्यो, “अबको पाइप लाइनमा पारिजातको जीवनी र अरू दुई कृति तयारी अवस्थामा छन् ।” पारिजातको जीवनी त प्रकाशित पनि भइसक्यो । अब अरू पनि आउने क्रममै होलान् ।
उहाँ अमेरिका गएपछि के के कर्म गर्नुभयो, त्यो सबै त म जान्दिनँ तर ‘विश्व–परिक्रमा’ नामक पत्रिका प्रकाशित गरेर नेपाली समुदायमाझ निकै लोकप्रिय बनाउनुभयो । साहित्यिक लेखनलाई यहाँकै जत्तिको निरन्तरता दिइरहनुभएको छ । अध्ययनको रुचिमा कत्ति पनि घुनपुतली लाग्न दिनुभएको छैन । ‘विश्व–परिक्रमा’ को स्तम्भकारका हैसियतले मात्रै नभएर अन्य समाचार तथा आलेख पनि यताबाट सम्प्रेषण गर्ने काम मैले केही वर्षसम्म गरिरहेँ । उहाँले सकुन्जेल धेरथोर पारिश्रमिक पनि पठाउनुभयो तर केही समयसम्म बिनापारिश्रमिक पनि कामलाई नियमितता दिनु आफ्नो धर्म नै ठानेर पनि गरियो । पत्रिका नियमित रूपमा प्रकाशन गर्नु भनेको दरो आर्थिक स्रोतको जोहो हुनु हो । अथवा नियमित रूपमा विज्ञापनको भर नभई यो सम्भव हुँदैन । ग्राहक बनाएर वा बजारमा बिक्री गरेर आएको रकमले कत्ति पनि हुँदैन । अमेरिका जस्तो ठाउँमा एक्लो प्रयासमा पत्रिकालाई नियमित गर्नु भनेको ठुलो हिम्मत थियो । आफैँले गाडी हाँकेर ग्राहक बनेका नेपाली पाठकका थातथलोमा पु¥याउनुमा उहाँको ‘मेवा कर्मभन्दा पनि सेवा कर्म’ बढी थियो । सकुन्जेल गर्नुभयो, नसकेपछि त कसरी गरियोस् !
हुन सक्छ, आर्थिक अभावकै कारण उहाँले पत्रिकालाई सोही रूपमा निरन्तरता दिन सक्नुभएन र डिजिटल स्वरूपमा बदल्नुभयो । डिजिटल स्वरूपको पनि यहीँ आएर नेपाल
प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा भव्य लोकार्पण गर्नुभएको थियो । अहिले पनि यसलाई निरन्तरता दिँदै आउनुभएको छ । विशेष गरी साहित्यिक समाचार र गतिविधिकेन्द्रित सामग्री संयोजन गर्दै आउनुभएको देखिन्छ । म अमेरिका पुगेको छैन । एक पटक घुम्नसम्म जानलाई मनले चाहिरहेको छ । मनको यो चाहना त्यति ठुलो पनि होइन र असम्भव पनि होइन । चाहना देशको समृद्धि हेर्ने त हुँदै हो । त्यसभन्दा पर केही साथीभाइका, केही आफन्तका, केही फाइँफुट्टी लगाउनेका, केही गुमनाम बस्नेका, केही रोइलो गाउनेका, यस्तै यस्तै नेपाली खोज्ने हेर्ने चाहना छ । कति सम्भव होला वा नहोला, त्यो पछिको कुरा हो । यसै मेसोमा हेर्नैपर्ने अर्को उत्सुकतामा गोविन्दजीको पुस्तकालय पनि हो ।
मैले मात्रै पनि उहाँलाई दुई सय जति पुस्तक यहाँबाट पठाएँ हुँला । कोही आफन्तमार्फत, कोही आउनेजानेमार्फत र धेरै जसो त हुलाकबाट ‘बुक पोस्ट’ गरेर । लेखक/प्रकाशकले सामाजिक सञ्जालमा विज्ञापन गरेको मात्रै हुन्छ, यहाँ पुस्तक लोकार्पण गरिएकै हुँदैन, उहाँले लौ है त्यो किताब चाहियो भनिहाल्नुहुन्थ्यो । खर्च उहाँको भए पनि समय मेरो थियो । उता बसेर पनि यताका साथीभाइका, समकालीन पुस्ताका चर्चित लेखकका पुस्तक पढ्न चाहने एउटा सचेत पाठकका लागि मैले केही समय खर्च गर्नु नाजायज ठानिनँ र लामै समय निरन्तरता दिएँ । कतिपय आफूले पढ्न भ्याएका पुस्तकका ‘विश्व–परिक्रमा’ मै समीक्षा पनि लेखेको छु तर आफूले पढिसकेर बुक पोस्ट गरौँला भनेर पर्खिनलाई त उता उहाँलाई हतारो भइहाल्थ्यो । भन्नुहुन्थ्यो, “त्यो अस्तिको लटका त मैले पढिसकेँ, अब यी छिट्टै पठाइदिनु न ल । यहाँ मलाई तुलबुल भइसक्यो ।”
होइन, यो मान्छेले कति छिटो पढ्छ ? कि नपढी नै थन्क्याउनलाई पुस्तक मगाइरहेको छ हँ ! कि यताबाट मगाएर उता बिव्रmी पो गर्ने हो कि ? शङ्का अनेक उठ्थे । मेरो ठाउँमा अर्को जोकोही भए पनि उसलाई पनि यस्तै शङ्का लाग्थ्यो होला । धेरै पटक परीक्षण पनि गरेँ । पुस्तकबारे छलफल चर्चा गरियो । पढ्न पनि ‘स्याम्पलिङ पढाइ’ नगरी पूरै पढेको पाउँदा मलाई छक्क लागेको हो । यो मान्छेले कति छिटो पढेको होला ? लेख्न पनि उत्तिकै लेखिरहेको छ । यहाँ भएका लेखक, साहित्यकारका भन्दा उसैका लेखरचना पत्रपत्रिकामा छाइरहेका छन् । उता पत्रिका पनि निकालिरहेको छ । कसरी भ्याएको हो यो
मान्छेले ! उता काम पनि त गरिरहेकै होला । छ महिना, वर्ष दिनमा यता पनि आइरहेकै छ । भन्नुहुन्थ्यो, “कोइरालाजी सानो सानो पुस्तकालय नै बनाएको छु, आफ्नो सोख त पूरा गर्नै प¥यो नि, होइन र ?” हो नि, कि बाध्यताले कि सोखले त गर्ने हो । यहाँनेर मैले दिने जवाफ भनेको, “हो नि, ठिक गर्नुभयो ।” त्योभन्दा ज्यादा के नै भन्ने र !
मान्छेले आफ्नो सोख पूरा गर्नकै लागि त मरिमेट्ने हो नि । फरक कति भने मान्छेका सोख फरक फरक हुन्छन्, रुचि फरक फरक हुन्छन् । यही नै मानवीय स्वभाव हो । गोविन्दजीको पुस्तकालय बढाउन अब त उहाँलाई झनै सजिलो भएको छ । छ/छ महिना जस्तोमा आउजाउ गर्न थाल्नुभएको छ । यसो भएपछि आवश्यकता र सोख पनि दुवैतर्फ बराबरी जस्तै हुने भयो । यता पनि घर छ, पुस्तकालय छ, उता पनि घर छ, पुस्तकालय छ । तन यता छ, मन पनि यतै छ तर तन उता हुँदा मन भने यतै बसेको हुन्छ । त्यही भएर उता पुगेर पनि यतै आउन हतारिन थालिहाल्नुहुन्छ । यहाँ रहँदा पनि जहिल्यै हतारोमै देखिनुहुन्थ्यो । उहाँकै साथीभाइले पनि भन्ने गरेका थिए, “गोविन्दजीका खुट्टामा किलोमिटर नाप्ने यन्त्र जडान गरिदिने हो भने थाहा हुन्थ्यो, उहाँ दिनमा ४० किलोमिटरभन्दा कम त कुनै दिन पनि हिँड्नुहुन्न होला ।” त्यतिबेला यस्तो मापनयन्त्रको अभाव भए पनि अब अहिले त यस्तो यन्त्र पनि हातमै उपलब्ध छ र उहाँको यात्रा यहाँ मात्र सीमित नरहेर विश्वव्यापी भइसकेको छ । उहाँ दौडिरहनुभएको छ र उहाँको विशेषता नै यही सक्रियता भएको छ । उहाँको यस्तो लोभलाग्दो सक्रियता देख्दा भन्न मन लाग्छ, “तपाईं कस्तो हतारको मान्छे हँ !”