• १० जेठ २०८२, शनिबार

मधेश पत्रकारिताको नालीबेली

blog

नेपाली भाषा साहित्यको सुधार गर्ने अभियान अन्र्तगत विसं १९५५ मा ‘सुधासागर’ पत्रिकाको प्रकाशन प्रारम्भ भएको देखिन्छ तर यो पत्रिका साहित्य र संस्कृतिमा आधारित पत्रिका भएकाले वास्तवमा नेपालमा पत्रकारिताको सुरुवात विसं १९५८ मा गोरखापत्रबाट सुरुवात भएपछि नै सुरु भएको मानिन्छ । राणा प्रधानमन्त्री देवशमशेरले साप्ताहिक पत्रिकाको रूपमा गोरखापत्रको प्रकाशन गर्न लगाएका थिए । यसले नेपाली भाषामा समाचार सम्प्रेषणको सुरुवात ग¥यो । पछि विसं १९६१ मा यो दैनिक पत्रिका बन्यो । हुन त सुधासागर भन्दाअघि सन् १८८६ मा भारतको वाराणसीबाट मोतीराम भट्टद्वारा सम्पादित ‘गोर्खा भारत जीवन’ नामक पत्रिका प्रकाशित भएको थियो, जुन नेपाली भाषाको पहिलो पत्रिका मानिन्छ । यता आएर नेपालको पत्रकारिता इतिहासमा मधेश क्षेत्रको योगदान उल्लेखनीय रहँदै आएको छ । विशेष गरी लोकतन्त्र प्राप्तिपछि मधेशमा सञ्चार माध्यमको उल्लेखनीय वृद्धि, परिवर्तन र योगदान देखिन्छ । मधेशको पत्रकारिता न केवल सूचनाको माध्यम रह्यो, यसले सामाजिक न्याय, राजनीतिक चेतना, सङ्घीयता, पहिचान र समावेशी लोकतन्त्रको पक्षमा निर्णायक भूमिका खेलेको छ ।

प्रारम्भिक पत्रकारितामा ‘नवजागरण’

नेपालमा पत्रकारिताको प्रारम्भ भएसँगै तराई मधेशका जिल्लाबाट पनि संवाददाताको रूपमा केही व्यक्ति कार्य गरे पनि मधेशमा पत्रकारिताको इतिहास १९ औँ शताब्दीकै उत्तरार्धदेखि देखिन्छ । साथै प्रारम्भिक कालमा भारतको मिथिलाञ्चलबाट प्रकाशित पत्रपत्रिकाहरू (जस्तै मिथिलामिहिर, मैथिलहित साधन) ले नेपालको मधेशमा पनि प्रभाव पारे । नेपालभित्रको मधेशबाट भने विसं २०१४ मा ‘नवजागरण’ पहिलो त्रैमासिक पत्रिका प्रकाशन भएको थियो, जसले नेपाली, हिन्दी र मैथिली भाषामा सामग्री प्रकाशित गथ्र्यो । यसको सम्पादन नवोनाथ झा नवीनले गर्नुभएको थियो ।

रेडियो तथा टेलिभिजनको विकास

नेपालमा रेडियो नेपाल विसं २००७ चैत २० गते रेडियो नेपालको स्थापना भए पनि मधेशमा रेडियो प्रसारणको पहुँच २०५० को दशकपछि मात्र विस्तार भयो । त्यसपछि निजी तथा सामुदायिक रेडियोहरू सञ्चालनमा आउन थाले र रेडियो जनकपुर, वीरगन्ज एफएम, जनकपुर एफएम, रेडियो मिथिला, रेडियो मधेश आदि २०५८/२०७० को बिच सञ्चालनमा आए ।

यी रेडियोहरूले स्थानीय भाषामा समाचार, बहस, जनगुनासो, स्वास्थ्य शिक्षा र सांस्कृतिक कार्यक्रमहरू प्रसारण गरेर जन जनसम्म सूचनाको पहुँच पु¥याए । साथै प्रदेश स्तरीय टेलिभिजन जस्तै जनकपुर टेलिभिजन र वीरगन्ज टेलिभिजनले मधेशको आवाज दृश्य माध्यममा उतार्ने काम गरे । त्यसपछि बिस्तारै मधेश प्रदेशमा जनकपुर टेलिभिजन, वीरगन्ज टेलिभिजन, ‘अप्पन टेलिभिजन,’ ‘टिभी टुडे,’ ‘टाइम्स टेलिभिजन,’ ‘रेड टेलिभिजन,’ ‘माई टिभी,’ ‘ए वनन्यूज,’ ‘वनप्लस टेलिभिजन, जानकी टेलिभिजनसहित एक दर्जनभन्दा बढी टेलिभिजन सञ्चालन भए पनि अहिले औपचारिक रूपमा अस्तित्वमा रहेका टेलिभिजनको सङ्ख्या करिब सात मात्र रहेको छ ।

मधेश विद्रोहमा सञ्चार माध्यम 

सङ्घीयताको मागसहित भएको पहिलो मधेश आन्दोलनमा सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै निर्णायक रह्यो । राष्ट्रिय मिडियाले बेवास्ता गरेको आन्दोलनलाई मधेशका एफएमले प्रत्यक्ष प्रसारण गरे । जनकपुर एफएम, रेडियो मिथिला, वीरगन्ज एफएम (रेडियो वीरगन्ज) लगायतले आन्दोलनका घटनाक्रम, माग र सरकारसँगको संवादलाई प्रत्यक्ष रूपमा प्रसारण गरे । यसले मधेशको आवाज काठमाडौँसम्म पु¥यायो र जनतामा राजनीतिक जागरण ल्यायो । यस अवधिमा नागरिक पत्रकारिताको अभ्यास पनि तीव्र भयो । जनताले मोबाइल र सामाजिक सञ्जालमार्फत भिडियो र समाचार सम्प्रेषण गर्न थाले ।

संविधान निर्माणमा दबाब 

मधेशी दलहरूले सङ्घीयताको पक्षमा राखेका सुझाव र माग सञ्चार माध्यमले सम्प्रेषण गर्दै सङ्घीयतासहितको संविधान निर्माणमा दबाब सिर्जना गरे । पत्रपत्रिकामा बहस, टेलिभिजनमा विश्लेषणात्मक कार्यक्रम र एफएमहरूमा अन्तर्वार्ता र जन गुनासोका कार्यक्रम चलाइए । २०७२ सालमा संविधान जारी भएपछि मधेशमा तीव्र असन्तोष पैदा भयो । मधेशी दलहरू, नागरिक समाज र स्थानीय बासिन्दा संविधानले मधेशको पहिचान, सीमाङ्कन र प्रतिनिधित्वको सवाल सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिए । सञ्चार माध्यमले संविधानका धारा, मधेशी माग र त्यसको कानुनी पक्षलाई आमभाषामा व्याख्या गरे । रेडियो कार्यक्रममा संविधान संवाद, समुदाय आवाज र संविधान बहस जस्ता कार्यक्रम शृङ्खलाबद्ध रूपमा सञ्चालन भए । पत्रकारहरूले मधेश आन्दोलनका क्रममा आन्दोलनकारी र राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटना उजागर गरे । जसले विश्वव्यापी रूपमा मधेशको छुट्टै पहिचान स्थापित गर्न र नेपालका लागि सङ्घीयता लोकतन्त्र गणतन्त्रको आवश्यकतालाई बुझाउन सफल भयो ।

सङ्घीय निर्वाचन एवं जनचेतना 

सङ्घीय संरचना अनुसार पहिलो पटक भएको स्थानीय, प्रदेश र सङ्घ निर्वाचनमा सञ्चार माध्यमले व्यापक जनचेतना फैलाए । मतदान प्रक्रिया, उम्मेदवारी, नीति, जनताका अधिकारबारे रेडियो/टिभी/अनलाइन सामग्री निर्माण भए । उदाहरणका लागि जनकपुरमा रेडियो जनकपुर, जनकपुर एफएम र रेडियो मिथिलाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन ग¥यो भने जनकपुर टेलिभिजनले उम्मेदवारसँगको बहस कार्यक्रम प्रसारण ग¥यो । यसले समावेशी सहभागिता सुनिश्चित ग¥यो । महिला, दलित र अल्पसङ्ख्यक समुदायबाट पनि मतदानमा उत्साह देखियो ।

समावेशी शासन र निगरानी

प्रदेश सरकार गठनपछि सञ्चार माध्यमले बजेट, नीति, कानुन निर्माण, सार्वजनिक सेवा प्रवाह आदिमा निगरानी राखे । जनप्रतिनिधिको जवाफदेहिता कायम गर्न बहस कार्यक्रम, अनुगमन रिपोर्ट, नागरिक आवाज कार्यक्रम सञ्चालन भए । त्यति मात्र होइन, जसरी मधेश प्रदेश सञ्चार माध्यमले आममधेशीका माग र उनीहरूको आवाजलाई प्रसारित गर्ने काम ग¥यो । यसै गरी मधेश प्रदेश सरकारको गठन भइसकेपछि त्यहाँका राम्रा कुरा र नराम्रा कुरा दुवैलाई एकसाथ जनसमक्ष लगे र भ्रष्टाचारका कुरासमेतलाई प्रमुख प्राथमिकताका साथ समाचार माध्यममा स्थान दिए । मधेशको जनतालाई सचेत बनाएको छ र भ्रष्टाचारविरुद्ध बोल्नका लागि सबै मुखरित भएका छन् ।

भाषा र संस्कृतिको संरक्षण 

सामुदायिक तथा निजी रेडियो र क्षेत्रीय टेलिभिजनले मैथिली, भोजपुरी, थारू, उर्दू, अवधी भाषामा सामग्री उत्पादन गरी भाषिक अधिकारको अभ्यास गराए । मैथिली लोकगायन, मिथिला नाटक, झिझिया, सामा–चकेवा जस्ता सांस्कृतिक कार्यक्रम रेडियो तथा टेलिभिजनमार्फत प्रसारण भए । यसले मधेशको सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र प्रचारप्रसारमा मद्दत ग¥यो । यस्तै रेडियो जनकपुर, रेडियो मिथिला, जनकपुर एफएम, रेडियो मधेश आदि रेडियोले स्थानीय भाषामा मास्क, खोप, दुरीका सन्देश प्रसारण गरे । जनताले टोलमा रेडियो सुनेर स्वास्थ्य सल्लाह पाए ।

डिजिटल सञ्चार र मधेश 

२०७५ सालपछि थुप्रै अनलाइनपोर्टल पनि सञ्चालनमा आए र बिस्तारै मधेश प्रदेशमा अहिले पाँच दर्जनभन्दा बढी सञ्चालनमा रहेको छ । त्यसपछि झन्डै तीन दर्जनभन्दा बढी अनलाइन निजपोर्टल मधेश सरकार अन्तर्गत सञ्चालित आम सञ्चार प्राधिकरणमै दर्ता भई सञ्चालनमा रहेको छ । त्यसै गरी फेसबुक, युट्युब र इन्सटाग्राम सञ्जालमा समाचार र विचारका कन्टेन्ट आउने गरेको छ अर्थात् सामाजिक सञ्जालको यो प्लेटफर्मलाई न्यु मिडियाको रूपमा प्रयोग गर्ने चलन बढेको छ । सामाजिक मिडिया पनि पत्रकारिताको उपकरण बन्न थाल्यो । यसले शासकीय निकायलाई थप उत्तरदायी बनायो । पछि फेसबुक, युट्युब, अनलाइन पोर्टलहरूको प्रभाव बढ्यो । रिपोर्टिङ, लाइभ रिपोर्ट, भिजुअल सामग्री, डकुमेन्ट्री, तथ्यपरक पत्रकारिता आदि डिजिटल माध्यममार्फत विकसित भयो । यसले मधेशको विषयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पु¥याउने अवसर दियो ।

अन्त्यमा लोकतन्त्र प्राप्तिपछि मधेशको सञ्चार जगत्ले उल्लेखनीय फड्को मारेको छ । मधेशका पत्रिका, एफएम, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालले लोकतान्त्रिक शासन, सङ्घीयता, समावेशिता, मानव अधिकार र सामाजिक न्यायलाई सबल बनाउन योगदान दिएका छन् । यिनीहरूले मधेशको आवाज राष्ट्रिय निर्णय प्रक्रियामा पु¥याउने पुलको भूमिका खेलेका छन् । भविष्यमा अझै बढी सशक्त, पेसागत र उत्तरदायी पत्रकारितामार्फत सङ्घीय लोकतन्त्रलाई स्थायित्व दिन सकिने आशा गरिन्छ ।