• ८ जेठ २०८२, बिहिबार

यार्चा टिप्न स्थानीय लागे पाटनतिर

blog

युवा यार्चा टिप्न गएपछि सुनसान पातारासी । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, जेठ ८ गते । जेठ लागेसँगै स्थानीय यार्चा टिप्न पाटनतिर लाग्न थालेका छन् । जुम्लाको पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिकासहित विभिन्न पालिकाका नागरिक पाटनतिर लाग्न थालेका छन् ।  पातारासी गाउँपालिका–१, गडीगाउँका जङ्गबहादुर ऐडी अहिले बहुमूल्य जडीबुटी यार्चा टिप्न पाटनतिर लागेको बताउनुभयो । ऐडीले हप्ताअघि नै घर छाडेको र स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्चा टिप्न लागेको बताउनुहुन्छ । 

राम्रोसँग यार्चा सङ्कलन भए वर्ष दिनको खर्च जुटाउन खासै कठिनाइ नहुने बताउँदै पातारासी गाउँपालिकाभित्रका हजारौँ युवा पाटनमा गएर यार्चा सङ्कलन गर्दे आएका छन् । ऐडीसँगै अहिले सयौँ युवा यार्चा टिप्न पाटनतिर लागेका हुन् । 

पातारासी गाउँपालिकाको आयआर्जनको मुख्य स्रोत भनेकै यार्चा बनेको छ । पातारासी गाउँपालिका–१ का वडाध्यक्ष लालसिंह ऐडीका अनुसार स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोत नै जडीबुटी भएकाले पाटनतिर गइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार १ देखि ७ वडाका युवा अहिले गाउँमा भेटिँदैनन् । घरको उत्पादनले बाह्रै महिना खाना पुग्दैन । घरखर्चदेखि बालबच्चालाई स्कुल पढाउन, लुगाफाटो किन्नसमेत यार्चा सङ्कलन गर्न जानुको विकल्प नरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मकै, आलु, कोदो, चिन्नु गोडमेल र घरायसी सबै काम महिलाको जिम्मा लगाएर प्रायः युवा पाटन जान्छन् । गाउँका विकासे काम पनि यस सिजनमा महिलाले गर्ने गरेका छन् । जेठ लागेदेखि पातारासी क्षेत्रका युवा र वृद्धवृद्धासम्म झन्डै दुई महिनाका लागि ओढ्ने ओछ्याउने, दालचामल, नुनतेल बोकेर बालबच्चासहित पाटन उक्लिरहेको लर्को देख्न सकिन्छ । 

स्थानीयका अनुसार माथिल्लो तहका विद्यार्थी पनि पाटन पुगिसकेका छन् । यार्चा टिप्न विद्यार्थी पनि जाने भएकाले विद्यालयमा विद्यार्थी पनि यस सिजनामा घट्ने गर्छन् । 

मानिस पाटनमा गएपछि गाउँमा बिरामीको रेखदेख गर्ने मान्छे भेट्न पनि मुस्किल पर्ने गरेको छ । मर्दापर्दा मलामी जाने मान्छेको पनि अभाव देखिएको बुढापाका बताउँछन् । पातारासी गाउँपालिका–३, शोभा बोहोराका अनुसार यार्चा टिप्न जानु कसैका लागि रहर त कसैलाई बाध्यता बनेको छ । यार्चा पातारासीको प्रमुख आम्दानीको स्रोत हो । उहाँले भन्नुभयो, “गरिबको रोजीरोटीकै लागि पाटन गन्तव्य बन्छ । गाउँमा रोजगारीको अवसर छैन, ज्यानकै जोखिम मोलेर भए पनि नातेदारसँग लेकतिर लाग्ने गरेको उनीहरू बताउँछन् ।