• ८ जेठ २०८२, बिहिबार

आयोगले पीडितको विश्वास जितेर काम गरोस् : बेपत्ता परिवार

blog

छलफलमा सहभागी सरोकारवाला र राजनीतिक दलका प्रतिनिधि ।

काठमाडौँ, जेठ ७ गते। सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग पीडितमैत्री बन्नेमा सम्बन्धित पक्षले आशंका व्यक्त गरेका छन्। सरकारले पीडितसँग समन्वय नगरी एकतर्फी ढगंले गठन गरिएको आरोप लगाउँदै बेपत्ता परिवार र सरोकारवालाले यस्तो आशंका गरेका हुन्। 

गठन प्रक्रिया असहमतिका बाबजुत यो टुंगियोस् भन्ने मनसायले पीडित परिवार पर्ख र हेरको अवस्था रहेको उनीहरुको भनाइ छ।

१६ औँ बेपत्ता स्मरण दिवसको सन्दर्भमा वेपत्ता परिवारद्वारा राजधानीमा आयोजित कार्यक्रममा बेपत्ता परिवारले यथाशिघ्र गम्भीरतापूर्वक निचोड निकाल्ने गरी काम गर्न अनुरोध गरेका छन्। 

कार्यक्रममा बेपता समाजका अध्यक्ष  एकराज भण्डारीले मुलुकको राजनीतिक परिवर्तन बेपता योद्धाको योगदानको कारण भएको बताउनुभयो। उहाँले भन्नुभयो, “वर्तमान आधिकारिक कानुनले बनाएको संस्था निकाय सबै सबै  निकम्बा भइसकेका छन्।  आयोगप्रति आशंका रहेको छ। देशको राजनीति यस्तो ठाउँमा पुग्यो न नेताप्रति डर न भरको स्थिति रहयो।’ 

नेकपा माओवादीका नेता हिमाल शर्माले सत्य मेलमिलापमा आएका सम्पूर्ण उजुरीको  निष्पक्ष  छानबिन गर्नु पर्नेमा जोडदिनुभयो। “सरकारको  बेपत्ता पारिएका व्यक्तिको बारेमा बोल्ने हिम्मत छ ?’’, प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘‘भैरव नाथगणमा  वि.स. २०६० साल पुसको ५ गते लगेका बन्दी कहाँ छन् ? संयुक्त राष्ट्रसंघले पनि भैरवनाथ गणमा पक्राउ गरी लगेकाको  अवस्था अज्ञात रहेको भनेर प्रतिवेदन  बुझाएको थियो। यसलाई गिजोल्ने काम गर्नु हुँदैन।’’ 

कार्यक्रममा पूर्व कानुनमन्त्री गोविन्द बन्दीले बेपत्ताको खोजी हमेसा राज्यको उपेक्षाको विषय बनेको उल्लेख गर्नुभयो। नेपालको संक्रमणकालीन न्याय राजनीतिक स्वार्थ पूर्तिको लागि भर्याङ बनेको आरोप उहाँको छ।

यस्तै , नेकपा (एमाले)का नेता एवम् कानुन तथा मानवअधिकार समिति सदस्य कृष्ण भक्त पोखरेलले बेपता योद्धाको विषयमा राज्य जिम्मेवार नभएको यथार्थ स्वीकार गर्नुभयो। 

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समिति सभापति, रामहरि खतिवडाले देशबाट बेपत्ता भएका सबै नागरिकको खोजी गरिनुपर्नेमा जोड दिनुभयो।


सहिद तथा बेपत्ता परिवारकी सदस्य एवम् चौरी देउराली गाँउपालिका अध्यक्ष रेनुका चौलागाईंले सरकारले सहिद तथा बेपत्ताको योगदानलाई कदर नगरेकोमा चिन्ता व्यक्त गर्नुभयो।  दण्डपाणि न्यौपाने, मिलन नेपाली, नवीन पौडेल, कमला शर्मा लगायतलाई २०५६ साल जेठ ७ गते राज्यले राजधानीबाट प्रकाउ गरेर बेपत्ता बनाएको दिनलाई बेपत्ता परिवारले बेपत्ता स्मरण दिवसको रुपमा सम्झना गर्दै आएका छन्।