सन्तोष दहित
दाङ, जेठ ७ गते। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैरीले आलोचना गर्नु चिन्ताको विषय नभएको बताउनुभएको छ।
दाङ स्थानीय विभागद्वारा आयोजित पार्टी कार्यकर्ता र जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘वैरीको आलोचना चिन्ताको विषय होइन। बरु उनीहरूकै आलोचना कमजोर पक्ष बलियो बनाउनका लागि उपयोग गर्नुपर्छ।’ वैरीहरूले प्रशंसा गर्न थाले भने आफूहरू बाटो बिराएको सम्झनुपर्ने उहाँले बताउनुभयो।
महासचिव पोखरेलले पार्टीका नीति, कार्यक्रम र योजना जनताबीच लैजानुपर्नेमा जोड दिनुभएको छ। उहाँले जनताको निराशालाई आशामा बदल्ने पार्टी एमाले भएको प्रष्ट पार्नुभयो।
एमालेले विगतका हरेक संकटलाई सामना गर्दै सशक्त रूपमा अघि बढेको र देशको सबैभन्दा लोकप्रिय पार्टीको रूपमा आफूलाई स्थापित गरिसकेको दाबी गर्दै पोखरेलले भन्नुभयो, ‘‘एमाले देश परिवर्तन गर्नका लागि स्थापित भएको पार्टी हो। हामी लोकतन्त्र र समृद्धिका पक्षमा लडिरहेछौं। विगतमा माओवादी आन्दोलनले देशलाई अस्थिर पार्दा पनि एमाले विचलित भएन। हामीले १२ बुँदे सहमति गराएर हिंसाको अन्त्य गर्यौं र गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्यौं।”
वाम एकता, लोकप्रिय सरकारको नेतृत्व, आर्थिक वृद्धि दर सुधार, लोककल्याणकारी राज्य निर्माण लगायत विगतका उपलब्धि स्मरण गराउँदै उहाँले भन्नुभयो, “२०७४ सालमा वामपन्थी शक्तिलाई एकताबद्ध गरेर जनताको अभूतपूर्व समर्थनसहित सरकार बनायौं। देशमा सात प्रतिशत आर्थिक वृद्धि दर पुर्यायौं। तर प्रचण्डको गलत मानसिकताका कारण त्यतिबेला समस्या उत्पन्न भयो। सत्ता गुम्दा उनीहरूमा छटपटाहट देखिएको छ। विदेशमा पसिना बगाएर मात्र देश बन्दैन। देशभित्रै श्रम, सिर्जना र विकास चाहिन्छ।”
कार्यक्रममा एमालेबाट निर्वाचित वडा तथा स्थानीय तहका जनप्रतिनिधिको उपलब्धि र आगामी चुनौतीबारे समेत जानकारी गराइएको थियो। तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरस्तरीय विकास योजनाबारे प्रस्तुतिकरण गर्नुभएको थियो।
कार्यक्रममा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, स्थानीय विभागका केन्द्रीय सदस्यलगायत नेताको उपस्थिति रहेको थियो। कार्यक्रम नेकपा (एमाले) दाङ स्थानीय विभागका संयोजक मानबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको थियो।